नेपाल चिनाउने भ्यागुता

रामचन्द्र अधिकारी , ४०  पटक हेरिएको

नेपालमा ‘स्यालामेन्डर’ का दुई, ‘सिसिलिन’ को एक र ‘अनुरा’ (भ्यागुता) का ३३ प्रजाति स्थलगत तस्बिरसहित पञ्जीकरण गरिएको थियो । पछिल्ला वर्षहरूमा नयाँ खोजकर्ताले ५० वटा प्रजाति भएका र केही अति नै दुर्लभ र नेपालमा मात्र पाइने भनेर दाबीका साथ प्रस्तुत गरेका छन् ।
नेपालको पहिचान दिने धेरै कुरा छन् । गौतम बुद्ध, सगरमाथा र अन्य अग्ला हिमालहरू, हिमाल आरोहण र आरोहीहरू । उचाइसँग सम्बन्धित धेरै चिज छन् । जस्तै– सर्वाधिक उचाइमा रहेको गुम्बा, मानव बस्ती, धान फल्ने स्थान, ताल, राष्ट्रिय निकुञ्ज, उपत्यका, चिसो मरुभूमि आदिको नाम लिँदा नेपालको नाम लिनै पर्छ । यिनीहरूले नेपाललाई चिनाएका छन् ।

जैविक विविधतामा धनी मानिएको नेपालमा थुप्रै पहिचानवादी वनस्पति र जनावर छन् । नेपालका वनस्पति भन्ने पुस्तकमा उल्लेख गरिए अनुसार यहाँ ३२४ प्रजातिका वनस्पति छन्स जो नेपालबाहिर पाइँदैनन् । यिनको नाम लिएर ठेगाना खोजी गर्दा नेपाल नाम आइहाल्छ । जनावरको कुरा गर्दा तीन प्रजातिका स्तनधारी, एक प्रजातिको चरा, १० प्रजातिका सरिसृप, १६ प्रजातिका माछा अनि चार प्रजातिका पुतली नेपालका स्वस्थानीय हुन् । यिनीहरू नेपालमा मात्र पाइन्छन् । त्यसै गरी उभयचरका १२ प्रजातिले नेपाली भूमिमा मात्र रहेर नेपाली पहिचान बोकेका छन्, नेपाललाई वैज्ञानिक जगत्मा चिनाएका छन् । उभयचर भनेका पानी र जमिन दुवैमा बस्ने तर प्रजनन र जीवनको सुरुवातीका लागि जलबासस्थान अनिवार्य चाहिने जनावर हुन् । यस अन्तर्गत सबै भ्यागुता, ‘स्यालामेन्डर’ र ‘सिसिलियन’ पर्छन् । पछिल्ला दुई जन्तु निकै दुर्लभ हुन्, जहाँतहीँ नपाइने भएका कारण धेरै मानिसले यिनलाई देखेका चिनेका छैनन् तर भ्यागुता जतासुकै, वर्षाको मौसममा त घरभित्रै पनि देख्न सकिन्छ । हाम्रो देशमा कति दुर्लभ भ्यागुता छन् भने कति त नेपालबाहेक अन्त कुनै देशमा नपाइने, हामी धेरै नेपालीले नै नचिनेका विचित्रका पनि छन् ।

सरीसृप र उभयचरका विश्वप्रख्यात अनुसन्धानकर्ताहरू जर्मनीका हर्मन स्ल्याइख र ख्यास्ले तथा सरीसृप र उभयचरका विषयमा नेपालका पहिलो विद्यावारिधि प्रा.डा. कालुराम राईले सन् २०१३ मा उभयचरका ३६ प्रजातिका सचित्र व्याख्या गरी जम्मा ५० प्रजाति भएको लेख्नुभएको छ ।

‘उभयचर र सरीसृपका लागि स्थलगत निर्देशिका’ भन्ने पुस्तकमा उहाँहरूले त्यस बेलासम्ममा नेपालमा ‘स्यालामेन्डर’ का दुई, ‘सिसिलिन’ को एक र ‘अनुरा’ ९भ्यागुता० का ३३ प्रजाति स्थलगत तस्बिरसहित पञ्जीकरण गर्नुभएको थियो । पछिल्ला वर्षहरूमा नयाँ खोजकर्ताले ५० वटा प्रजाति रहेका र केही अति नै दुर्लभ र नेपालमा मात्र पाइने भनेर दाबीका साथ प्रस्तुत गरेका छन् । नेपालको पहिचान बोकेका र यीमध्ये अधिकांश नेपालमा पाइने दाबी लिइएकाहरूको विवरण यसरी विस्तार गरिन्छ ।

नेपाली लेकाली खस्रे (नेपाली अल्छे भ्यागुतो)

यो खस्रे भ्यागुताको वैज्ञानिक नाम ‘स्कुटिजर नेपालेन्सिस’ हो । यसलाई सन् १९७४ मा डुबोइस नामका खोजकर्ताले नेपालको रैथाने भनेर विश्वसामु चिनाएका हुन् । नेपालको पश्चिम पहाडी क्षेत्रमा मात्र यो पाइएको छ । समुद्री सतहबाट दुई हजार नौ सयदेखि तीन हजार एक सय मिटरको उचाइमा बस्ने यो भ्यागुतो अति नै दुर्लभ छ । अनुसन्धाता प्राडा राईका अनुसार यसको जनसङ्ख्या उबेला जम्मा तीन थियो । यसमा अचम्मको विशेषता के छ भने आवाज चाहिँ कागको जस्तो निकाल्छ । मानिसहरूले काग नै कराएको ठान्छन् तसर्थ स्थानीयवासीले पनि यसलाई नचिनेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

राराताल पाहा भ्यागुतो

नेपालको सबैभन्दा ठुलो ताल राराताल आसपास र सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज रारामा यो भ्यागुतो भेटिएको हो । यसैले यसको चलनचल्तीको नाम पनि ‘राराताल पाहा’ राखिएको छ भने वैज्ञानिक नाम पनि रारातालकै नाम जोडेर बनाइएको छ– ‘नानोराना रारिका’ । कुनै जीवको वैज्ञानिक नाम राख्दा ल्याटिन भाषामा लानुपर्ने नियम भएकाले ‘रारा’ लाई ल्याटिनीकरण गर्दा ‘रारिका’ भएको हो । यसको जनसङ्ख्या यकिन नभएकाले विस्तृत विवरण तयार हुन सकेको छैन । यो पनि विदेशी खोजकर्ता डुबाइस र मास्तुकीलगायतले पहिलो पटक पत्ता लगाएर प्रकाशनमा ल्याउनुभएको हो ।

भ्यागुता जतासुकै, वर्षाको मौसममा त घरभित्रै पनि देख्न सकिन्छ । हाम्रो देशमा कति दुर्लभ भ्यागुता छन् भने कति त नेपालबाहेक अन्त कुनै देशमा नपाइने, हामी धेरै नेपालीले नै नचिनेका विचित्रका पनि छन् ।
मास्केको खोपिल्टे भ्यागुतो (रानी भ्यागुतो)

यसलाई संरक्षणविद् स्वर्गीय तीर्थमान मास्केले चितवन राष्ट्रिय निकुञ्जमा पत्ता लगाउनुभएको हो । त्यसैले यसलाई ‘चितवन खोपिल्टे भ्यागुतो’ पनि भनिन्छ । यो भ्यागुतो मनसुनका केही महिना मात्र बाहिर देखा पर्छ अन्यथा दुलोभित्रै लुकी बस्छ । वैज्ञानिक नाम ‘स्फेरोथिका मास्केई’ दिएर स्ल्याइख र एन्डर्सले सन् १९९८ मा यसलाई विश्वसामु ल्याउनुभएको हो । यसको सङ्ख्या पनि स्पष्ट छैन र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले यसलाई कम चासो भएको लिस्ट ‘कन्सर्न’ प्रकारमा राखेको छ ।

धराने खस्रे भ्यागुतो (स्वाने दुले भ्यागुतो)

यसको अवस्थाबारे सन्देह छ भनेर प्राडा राईलगायतले लेख्नुभएको छ । उहाँहरूका अनुसार सन् १९५४ मा पूर्वी नेपालको धरानबाट यसको नमुना सङ्कलन गरिएको थियो । त्यसयता कतै भेटिएको छैन । यो नेपाली प्रजातिलाई विदेशी अनुसन्धानकर्ता माइएर र लेभिटनले सन् १९५६ मा दुर्लभ र नेपाली रैथाने प्रजाति भन्दै ‘स्फेरोथिका स्वानी’ नामकरण गर्र्दै प्रकाशनमा ल्याउनुभएको थियो । प्राडा राईहरूले यसलाई सन्देहात्मक प्रकारमा राख्नुभएको छ । प्राकृतिक जैविक स्रोतको पञ्जीकरण गर्ने अन्तर्राष्ट्रिय आधिकारिक र विश्वसनीय संस्था आइयुसिएनले पनि नेपाली अनुसन्धानकर्ता तेजकुमार श्रेष्ठ ९२००४० लाई उद्धृत गर्दै यसबारे केही तथ्याङ्क नपाएको ९डाटा डिफिसिएन्ट० प्रकारमा राखेको छ ।

तराई साँघुरो थुतुने भ्यागुतो

यसलाई केही अनुसन्धानकर्ताले नेपालमा मात्र पाइने भने पनि पछिल्ला अनुसन्धानबाट नेपाललगायत भारतका केही स्थानमा पाइने उल्लेख छ । त्यसैले यसमा नेपालको पूरापूर दाबी नरहने दिन आइसकेको छ । तथापि निकै दुर्लभ मानिने यो भ्यागुतो झापा जिल्लाको एक पर्यटकीय क्षेत्र जामुन खाडीबाट भेट्टाएर खतिवडा, थापा थरका र उहाँहरूका सहकर्मी अनुसन्धानकर्ताहरूले नेपालमा पहिलो पटक भेटिएको दाबी गर्र्र्दै ‘जुटेक्सा’ भन्ने ख्यातिप्राप्त विज्ञान पत्रिकामा सन् २०१७ मा प्रकाशित गर्नुभएको छ । यो प्रजातिको नाम ‘माइक्रोफाइला तराइएन्सिस’ हो । प्राडा राईले जामुन खाडीभन्दा करिब १५ किलोमिटर पूर्वमा रहेको चारआलीको जङ्गलबाट सन् २००४ तिर यही जातको तर प्रजातिचाहिँ रुब्रा भनेर अर्को भ्यागुतो भेट्टाउनुभएको थियो । कसैले यी दुई एउटै हुन् कि भन्ने शङ्का गरे पनि पछिल्लो अध्ययनले बिल्कुलै फरक फरक हुन् भन्ने पुष्टि गरिदिएको छ ।

चितवन भ्यागुतो

चितवन जिल्लास्थित चितवन राष्ट्रिय निकुञ्जमा भेटिएर यही जिल्लाको नामबाटै विश्वभर यो भ्यागुतो चिनिएको छ अनि चितवनलाई मात्र नभई नेपाललाई नै चिनाएको छ । यसको वैज्ञानिक नाम ‘हाइलोराना चितवन्सिस’ हो । यो नाम दास थरका वैज्ञानिकले सन् १९९८ मा राख्नुभएको हो । यसका जातिको पर्यायवाची नाम ‘सिलभिराना’ र ‘राना’ पनि हुन् । यो समुद्री सतहबाट पाँच सय मिटर उचाइमा चुरे पहाडमा पाइएको थियो । यसलाई नेपालमा मात्र पाइने भनेर व्याख्या गरिए पनि हिजोआज अस्ट्रेलिया, अफ्रिकातिर पनि पाइने अनुमान गरिएको छ । आइयुसिएनले यसलाई पनि पर्याप्त विवरण नपाइएको र नेपालबाट रेकर्ड गरिएको भनेर लेखेको छ ।

 

नारायणघाट कोर्रा भ्यागुतो (नेपाली रुख भ्यागुतो)

चितवन जिल्लाकै करिब दुई सय मिटर उचाइको नारायणघाटबाट पहिलो पटक अभिलेखीकरण गरिएको हुनाले यसले यस्तो नाम पाएको हो । यसले पूरा स्वरयन्त्र फुलाएर कराउँदा कोर्रा हुँकिएको जस्तो आवाज आउँछ भन्ने एक थरी प्राणीशास्त्रीको तर्क छ भने प्राडा राईले चाहिँ जोड लगाएर कराउँदा मानिसले खोके जस्तो ‘खक खक खक’ र विस्तारै कराउँदा ‘डु डु डु’ आवाज निकाल्छ भनेर उल्लेख गरेका छन् । सरिसृप र उभयचरका अध्येता प्राध्यापक करणबहादुर शाहले यसलाई ‘नेपाली रुख भ्यागुतो’ नाम दिनुभएको हो । यसको विश्वप्रसिद्ध वैज्ञानिक नाम ‘पोलिपेडेट्स जेड’ हो । यो भ्यागुतालाई पहिलो पटक डुबोइसले सन् १९८७ मा वैज्ञानिक जगत्मा ल्याउनुभएको थियो । केही प्रकाशनले भारतमा पनि पाइन सक्ने भनेर लेखे पनि यो नेपालको स्वस्थानीय नै भएको पुष्टि भएको छ ।

घुन्सा खस्रे भ्यागुतो

पूर्वी हिमाली जिल्ला ताप्लेजुङको घुन्सा, कञ्चनजङ्घा संरक्षण क्षेत्र आसपासको रैथाने यो भ्यागुतो समुद्री सतहबाट करिब तीन हजार पाँच सय मिटरमा कोणधारी र गुराँसको जङ्गलमिश्रित क्षेत्रमा पाइएको थियो । जनकराज खतिवडा, तुलसीराम सुवेदीलगायत अरू विदेशी मिलेर यो प्रजातिको पुष्टि ‘एसियन हर्पेटोलोजिकल रिसर्च’ नामक विज्ञान पत्रिकामार्फत सन् २०१९ मा गर्नुभएको हो । यो खस्रो छाला हुने भ्यागुतोको वैज्ञानिक नाम ‘स्कुटिजर घुन्सा’ राखिएको छ । यो सम्भवतः सर्वाधिक उचाइको भूस्वरूपमा बसोबास गर्ने उभयचर हो । यसबारे धेरै तथ्याङ्क प्राप्त नभएकाले विश्व संरक्षण सङ्घले यसलाई विवरण अपर्याप्तमा सूचीकृत गरेको छ ।

नेपाले छाँगे भ्यागुतो (पिर्रे पाहा)

पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको अरुण नदीको एक सहायक नदी सभा किनारमा मात्रै पाइएको यो भ्यागुताको बारेमा अनुसन्धान हुन धेरै बाँकी छ । जम्मा एउटा नमुना भेटिएको थियो, यसको जनसङ्ख्या नै एक हो । पाँच सय मिटरको उचाइमा पाएर डा टोङ याङ नाम गरेका अनुसन्धानकर्ताले सन् १९९१ मा यसलाई ‘एमोलोप्स् निपालिकस्’ वैज्ञानिक नाम दिएर विश्वमाझ ल्याउनुभएको थियो । यसलाई अङ्ग्रेजीमा ‘नेपाल सकर फ्रग’ वा ‘क्यासकेड फ्रग’ भनिन्छ । यो र यस्ता छाँगे भ्यागुताहरू छाँगा झर्ने ठाउँमा बस्छन्स जहाँ पानीका छिटाले उनीहरूको जिउ सिञ्चित भइरहोस् । पछिल्ला अनुसन्धानकर्ताले सङ्खुवासभा जिल्लाकै अर्को स्थानबाट पनि रिपोर्टिङ गरेका छन् । विश्व संरक्षण सङ्घले पूरा विवरण पाउन नसकिएको तर नेपालमा मात्र पाइने प्रजाति भनी प्रस्ट भनेको छ ।

पहाडी पिर्रे पाहा

यो भ्यागुतो नेपालको महाभारत पहाडी शृङ्खलामा बस्छ । यो अति सङ्कटापन्न, धरतीबाटै लोप हुन लागेको छ । यसलाई अनुसन्धानकर्ता जनकराज खतिवडालगायतले सन् २०२० मा केही गहिराइमा अध्ययन गरी प्रकाशन गर्नुभएको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यो पनि नेपालबाट मात्रै पहिचान गरिएको उल्लेख गरेको छ । नेपालमा करिब आठ सय मिटरमाथि १० स्थानमा पाइएको यो भ्यागुतोको वैज्ञानिक नाम भने ‘एमोलोप्स् महाभारतेन्सिस’ हो ।

नेपाले किथ्रे भ्यागुतो

नेपालको पूर्वी तथा मध्यपहाडी भेगको एक हजार ३५० देखि एक हजार ५८० मिटर उचाइका पहाडका खोल्सा र पोखरी आसपासमा बस्ने तर जङ्गलमा विरलै विचरण गर्ने यो भ्यागुतो पनि डुबोइसले सन् १९७५ मा पहिचान गरी प्रकाशमा ल्याउनुभएको थियो । यसले ताल मिलाएर कहिले चर्को र कहिले मधुरो स्वर निकाल्छ । स्वरबाटै पहिचान गर्न सकिने अध्येताहरूले जनाएका छन् । यसको वैज्ञानिक नाम ‘फेजरभेर्या नेपालेन्सिस’ हो । स्ल्याइख, ख्यास्ले र राईले यसलाई सन् २०१३ को मितिसम्म चाहिँ नेपालको मौलिक भ्यागुतो, नेपाली पेवा जैविक सम्पत्ति हुन सक्ने दाबी गर्नुभएको थियो । पछि सन् २०२१ मा विश्व संरक्षण सङ्घले यो खास चासोमा नरहेको प्रजाति अन्तर्गत पर्छ भन्दै भारत, भुटान र बङ्गलादेशमा पनि पाइने कुरा खुलाएको छ ।

खोजकर्ता तथा लेखकहरूबाट प्रकाशमा ल्याइएका यी भ्यागुताले नेपाली पहिचान बोकेका छन्, यिनले नेपाललाई चिनाएका छन् । तसर्थ यी नेपालका अमूल्य प्राकृतिक जैविक निधि हुन् भन्ने बुझेर यिनको संरक्षण र प्रचारप्रसार गर्न कसैले कन्जुस्याइँ नगरौँ ।
मधेशी किथ्रे भ्यागुतो

अनुसन्धानकर्ता डुबोइसले नै सन् १९८४ मा नेपालको तराई क्षेत्रमा पनि पाइने भनेर यसलाई प्रकाशमा ल्याउनुभएको थियो । तराईको ७१ मिटरदेखि चार सय मिटरसम्मको उचाइमा बसोबास गर्ने यो भ्यागुताको वैज्ञानिक नाम ‘फेजरभेर्या तराइन्सिस’ हो । प्राडा राईलगायतले यसलाई पनि सम्भवतः नेपालको मौलिक प्रजाति भनी आफ्नो पुस्तकमा लेख्नुभएको छ । यो प्रजातिलाई तेजकुमार श्रेष्ठहरूले सन् २००९ मा

‘ज्याकेराना तराइन्सिस’ नामले परिचय दिनुभएको छ भने विश्व संरक्षण सङ्घले ‘मिनिभेरा’ पनि भनेको छ । पछिल्ला वर्षहरूमा भुटान, भारत र बङ्गलादेशमा पनि यो पाइएका प्रमाणहरू आइरहेका छन् ।

जैविक निधिको संरक्षण आवश्यक

जीवजन्तुहरूको प्रजातिको सङ्ख्या तथा जनसङ्ख्या स्थिर रहँदैन । आज अस्तित्वमा भेटिएको कुनै जन्तु अर्को वर्ष त्यस स्थानमा नभेटिन सक्छ । माथिको व्याख्याबाट पनि बुझिन्छ कि कुनै प्रजाति कुनै निश्चित मितिसम्म नेपालमा मात्र पाइने भनेर भनिन्थ्यो तर पछि अरूतिर खोज कार्य हुँदा उता पनि पाइएको हुन सक्छ । त्यसैले जीवजन्तु पञ्जीकरण अति आवश्यक छ । सरकारी तवरले ‘डाटाबेस’ बनाउन र त्यसलाई अद्यावधिक गर्न आवश्यक छ । जुन प्रजाति नेपालमा मात्र पाइने भनेर जुन मितिमा अध्येताहरूले प्रमाणित गरे, सोही मितिमा सरकारले पनि विश्व समुदायमा आफ्ना आधिकारिक पेजबाट देखाइहाल्नु पर्छ । आमसञ्चार माध्यममा पनि ल्याइहाल्नु पर्छ । सबै नेपालीले आआफ्ना फोरममा चर्चाको विषय बनाउनु पर्छ । अनि त त्यो नेपालको हुन्छ, हाम्रो पेवा जैविक सम्पत्तिको भण्डार ठुलो देखिन्छ । उल्लिखित प्रजातिहरू पनि केही समयपछि ‘नेपालमा मात्र पाइने’ नहुन सक्छन् । यसकारण यिनको दस्ताबेजीकरण र प्रचारप्रसार गर्न ढिलो गर्न हुन्न ।

साथै जीवजन्तुको वैज्ञानिक नाम पनि अनुसन्धानकर्ता तथा लेखकहरूले वैज्ञानिक विमर्शमा आधारित भएर परिवर्तन गरिरहेका हुन्छन्, जो माथि प्रजातिको व्याख्यामा पनि उदाहरणस्वरूप आएका छन् । यसैले यो पाटोमा पनि चाँडै विचार पु¥याएर आफ्नो अमूल्य प्राकृृतिक निधिलाई मौलिकतामा ढाली विश्व समुदायमा दृढोक्ति प्रस्तुत गरिहाल्नु पर्छ । आजका दिनमा खोजकर्ता तथा लेखकहरूबाट प्रकाशमा ल्याइएका यी भ्यागुताले नेपाली पहिचान बोकेका छन्, यिनले नेपाललाई चिनाएका छन् । तसर्थ यी नेपालका अमूल्य प्राकृतिक जैविक निधि हुन् भन्ने बुझेर यिनको संरक्षण र प्रचारप्रसार गर्न कसैले कुन्जुस्याइँ नगरौँ ।

 

गाेरखापत्रवाट

प्रकाशित मिति: २०२४-०६-२२ , समय : १०:००:४६ , ३ हप्ता अगाडि