‘दुःखी आत्मा’मा दयाहाङ र मिरुनाको जोडी

Filmy Khabar , ९९  पटक हेरिएको

काठमान्डाै, १६ मंसिर । यतिबेला दयाहाङ राई र मिरुना मगरको जोडी ‘हटकेक’ छ । ‘कबड्डी ४’ र ‘जारी’ फिल्मको सफलतापछि उनीहरु हरेक मेकरको रोजाईमा परिरहेका छन् । उनीहरुले पनि लगातार फिल्ममा काम गरिरहेका छन् । यस वर्षको भदौमा आएको उनीहरु अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ पनि हिट भएको थियो । आगामी फागुन २५ गते यही जोडीको अभिनय रहेको फिल्म ‘रङ्गेली’ प्रदर्शन हुँदैछ ।

‘घरज्वाइँ’ र ‘लोकल हिरो’मा पनि एकसाथ काम गर्ने तयारीमा रहेका दयाहाङ र मिरुनाको अब नयाँ फिल्म ‘दुःखी आत्मा’मा पनि जोडी बाँधिने भएको छ । फिल्ममा दयाहाङ अनुबन्ध भैसकेका छन् । मिरुनासँग भने मौखिक सहमति भैसकेको स्रोतले जानकारी दिएको छ । अहिले उनी देशबाहिर रहेकाले नेपाल फर्किएपछि कागजी सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको बताइएको छ ।

दयाहाङसँग सहकार्य हुनुभन्दा अगाडि मिरुनाको करिअर संकटको अवस्थामा थियो । लगातार फिल्महरु असफल भैरहेका थिए । तर, अहिले सफल अभिनेत्रीको सूचीमा उनले आफूलाई उभ्याएकी छन् । यस वर्ष उनलाई फिल्मको सेड्युल मिलाउन समेत हम्मे पर्ने देखिएको छ । दयाहाङ र मिरुनाले सम्भवतः आगामी माघमा ‘घरज्वाइँ’को छायांकन गरेपछि ‘दुःखी आत्मा’मा काम गर्नेछन् ।

दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले गर्नेछन् । फिल्ममा निर्देशक लामाकै कथा, पटकथा तथा संवाद लेखन छ । सुदीप ढकाल प्रोडक्सन म्यानेजर रहेको फिल्ममा अधिकांश प्राविधिक टोली ‘नाङ्गो गाउँ’कै रहनेछ । फिल्म सामाजिक र हास्यकथामा बन्नेछ । काठमाडौंमा खिचिने यो फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : १०:३३:०२ , ५ महिना अगाडि