सामला राइनोज लेटाङ T20 क्रिकेट च्याम्पियन

इनेपालपत्र , ९७  पटक हेरिएको

लेटाङ ३ , मंसिर । किसे नाइट राइडर्स माथि फाइनलमा ९ रनको रोमाञ्चक जित हात पार्दै समला  राइनोजले लेटाङ T20 क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । विजेता समलाले उपाधि सहित रु १५,००० र उपविजेता किसेले रु ९,५०० प्राप्त गर्न सफल भए ।

प्रस्तावित बुद्ध रंगशालामा आइतबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको समलाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १११ रनको योगफल खडा गरेको हो । समलाका ध्रुव दाहालले सर्वाधिक २९, विनम पाङ्मिले १९ तथा उत्तम ढकालले नटआउट १८ रनको योगदान गरेका थिए । किसेका सगुन लिम्बू, निशान शंकर र मिलन पाठकले समान १-१ विकेट लिए भने समलाका ४ खेलाडी रनआउट भएका थिए ।

११२ रनको लक्ष सहित जवाफी ब्याटिङमा उत्रिएको किसे २० ओभरमा १०२ रनमा अलआउट भए पछि समलाले ९ रनको जित हात पारेको हो । किसेका सगुन लिम्बूले सर्वाधिक १७, अभि सुवेदीले १५ तथा विवस श्रेष्ठले १४ रनको योगदान गरेका थिए । समलाका उत्तम ढकालले सर्वाधिक ३ विकेट हात पार्दा रमेश चेम्जोङले २ तथा योगेश पौडेल, ध्रुव दाहाल र बिनम पाङ्मीले समान १-१ विकेट हात पारेका थिए ।

फाइनल खेलमा अलराउन्डिङ प्रदर्शन गरेका समला राइनोजका कप्तान उत्तम ढकाल प्लेयर अफ द म्याच घोषित भए । विधागत उत्कृष्ट तर्फ समलाका ध्रुव दाहाल उत्कृष्ट ब्याटर (५४ रन), किसेका मिलन पाठक उत्कृष्ट बलर (५ विकेट), किसेका नोर्बु तामाङ उदयीमान खेलाडी (४ रनआउट, ३ क्याच) घोषित भए । प्रतियोगितामा ब्याटिङ (सर्वाधिक ५४ रन) र बलिङ (सर्वाधिक ५ विकेट) तर्फ अलराउन्डिङ प्रदर्शन गरेका ध्रुव दाहाल प्लेयर अफ द सिरिज घोषित भए ।

प्रतियोगिताको फाइनलमा लेटाङ नगर प्रमुख तथा नगर खेलकुद विकास समिति अध्यक्ष कृष्णकुमारी निरौला, प्रतियोगिताको मुख्य सहयोगी वडा नं ४ का वडाअध्यक्ष रामकुमार श्रेष्ठ, वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता भुम ब. सुर्य मगर, वडा नं ४ वडा सदस्य सक्षम लिम्बू, मोर्डन पेन्टाथलन खेलकी मोरङ अध्यक्ष शान्ति पाख्रीन लामा,  लेटाङ क्याम्पस प्रमुख बिरेन्द्र कुमार लिम्बू, प्रस्तावित बुद्ध रंगशाला संरक्षण समिति अध्यक्ष उर्गेन तामाङ, नगर खेलकुद विकास समिति सदस्य अरुण राई लगायतका अतिथिहरूको उपस्थिति थियो । लेटाङ क्रिकेट विकास समितिको आयोजाामा सम्पन्न प्रतियोगितामा लेटाङका क्रिकेट खेलाडीहरूको खुला रजिस्ट्रेसन र फ्रि अक्सनबाट लेटाङका ४ पर्यटकीय क्षेत्रको नामबाट नकआउटका आधारमा मंसिर २ र ३ गते प्रतियोगिता आयोजना गरिएको हो ।

#RaazZaaw

प्रकाशित मिति: २०२३-११-१९ , समय : १८:२८:४१ , २ हप्ता अगाडि