समाजसेवी राई द्धारा झुल वितरण

रबिन श्रेष्ठ , १९६  पटक हेरिएको

लेटाङ, ७ भदौ । लेटाङ नगरपालिका वडा नं. ४ का समाजसेवी युवा भरत राईले आफ्ना दिवंगत मातापिताको सम्झनामा विपन्न नगरवासीलाई झुल वितरण गरेका छन् । लेटाङमा डेङगो संक्रमणले चरम अवस्था सृजना गरेपछि यसको नियन्त्रण गर्न भन्दै झुल वितरण गरिएको हो । सामाजिक क्षेत्रमा अग्रसर भएर काम गरिरहेका राईले पछिल्लो समय मानव सेवामा आफुलाई लगाईहरेका छन् । बर्तमान अवस्थामा मानिसलाई स्वास्थ्य संकट परेको छ । प्रत्येक घरमा डेङगोका विरामी छन् ।

डेङगोले अझै भयावह अवस्था ल्याउने विश्लेषण गरिरहेका छन् । यहि कुरालाई दृष्टिगत गरि लेटाङमा आर्थिक रुपमा कमजोर अवस्थाका परिवारलाई गुणस्तरयुक्त झुल वितरण गरिएको हो । बुधवार लेटाङ नगरपालिका भरिका १५ परिवारलाई झुल वितरण गरिएको थियो ।
लामखुट्टेले टोक्ने जोखिम उच्च भएपछि विहिवार लेटाङ अस्पतालमा वेड भर्ना भएका विरामीको सुरक्षाका लागि समेत १७ वटा बेडमा १७ थान झुल राखिएको छ । भरतको प्रयासमा राज्यले गर्नु पर्ने काम ब्यक्तिले गरिएको भन्दै विरामी, आफन्त र शुभचिन्तकहरुले धन्यवाद दिएका छन् ।

उज्याले जीवन प्रतिष्ठान सुधार गृह लेटाङ र लेटाङका युवाहरुको समुहले सामुहिक रुपमा अस्पतालको सरसफाई तथा झुल लगाउनका लागि चाहिने ब्यवस्थापन समेत गरेका छन् । यिनै युवा हुन् जसले लेटाङ भरि लामखुट्टे मार्नका लागि फगिङ तथा सर्च एण्ड डिस्ट्रोय अभियान समेत सुचारु गरेका थिए ।

अस्पताल निर्माणकै क्रममा रहेकाले बेडको ब्यवस्थापन तथा सरसफाइर्मा समेत देखिएको छ । अस्थायी रुपमा ईमेरजेन्सी सेवा सुरु भएपनि निर्माण सम्पन्न नभएकाले धेरै समस्याहरु देखिएका छन् । अस्पताललाई स्थायी रुपमा ब्यवस्थित तरिकाले संचालन गर्न आवश्यक देखिएको छ । अस्थायी ईमेरजेन्सी सेवावाट करिब ६ सय बढि विरामीको उपचार भईसकेको छ । ५ हजार बढी मानिसले लेटाङ अस्पतालवाट डेङगो परिक्षण समेत गरिसकेका छन् ।

डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ । डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ।
डेंगुुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ। जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ। यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुनसक्छ। यसको साथै रक्तचाप (ब्लड प्रेसर) कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतरा पनि हुनसक्छ।हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन। यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ। डेंगु रोगले सक्रमित व्यक्तिहरुमा रुघाखोकी र तिब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने हुन्छ।

त्यस्तै स्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिरा देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, (विशेषगरी नाक, मुख र मांसपेशी (डेंगु हेमोरेज फेबर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्दछन्।
लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो। त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। लामखुट्टेले खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, गाडीहरुका टायर, टुटेफुटेका सिसा वा भाँडामा जम्मा भएको पानी तथा खाल्टाखुल्टीमा जम्मा भएको पानीमा फूल पार्ने हुँदा यस्ता ठाउँमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्था गरिनु पर्दछ।

प्रकाशित मिति: २०२३-०८-२४ , समय : १७:३९:२३ , १ वर्ष अगाडि