सञ्चार, शिक्षा स्वास्थ्य सुविधा पुग्यो तर घरमा झार उम्रिए बारी बाँझै

Enepal Patra Pvt. Ltd. , ५२३  पटक हेरिएको

कोशिपारि (काभ्रे), १५ पुस । जिल्लाका कोसीपारिका गाउँ सुनसान बन्दै गएका छन । विकासका पूर्वधार गाउँगाउँसम्म पुगेको भए पनि मानिस भने विस्तारै सहर केन्द्रित हुँदै गएको देखिन्छ । यस जिल्लाको चौँरी देउराली गाउँपालिकाका नाग्रेगगर्चे, सानोवाङथली, कातिकेदेउराली, माझीफेदा, पोखरीचौँरी लगायतका गाउँ सुनसान बन्दै गएका छन ।

दशक अगाडिसम्म भरिभराउ गाउँ विस्तारै घट्दो क्रममा रहेका छन । भूकम्प पछि स्थानीयले घर त बनाएका छन तर ति घरमा घाँस उम्रिएको छ । सरकारले दिएको तीन लाख लिन कै लागि मात्र घर बनाएको देखिन्छ । कोसिपारीको चौँरीदेउरालीमा सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्य सबै कुरा गाउँगाउँमा पुगेका छन गाउँगाउँमा सिंहदरबार पनि पुगेको छ । तर गाउँमा मानिस बस्न भने छाडेका छन । खेतबारी बाँझो रहेको छ । दशक अगाडिसम्म हरियाली देखिने खेत र बारी विस्तारै कुरोको झारले भरिएका छन ।

चौँरीदेउराली गाउँपािलका वडा न ४ धुसेनीसिवालय गुम्पाटेका सानु तामाङ गाउँ नै सुनसान बन्दै गएको बताउनुहुन्छ । म पनि पाँच बर्षपछि फर्किएर भूकम्पको घर बनाउँदै छु । गाउँमा कोही पनि बस्दैनन । उहाँले पनि खेती नगर्नुभएको पाँच बर्ष भइसकेको छ । बारीभरी झार उम्रेको छ । तर उहाँ अब गाउँ मै बस्ने बताउनुहुन्छ । पहिला त सेवा सुविधा केही पनि थिएन । अब त धेरै कुरा गाउँ मै छ, अब म पनि गाउँ मै बस्ने सोचमा घर बनाउँदै छु ।

चौँरीदेउराली गाउँपालिका वडा न ४ मा लक्ष्मी प्रतिष्ठानले भूकम्प प्रतिरोधी ६४ घर बनाउन सहयोग गरेको थियो । बनाएका मध्ये १० घर मात्र मानिस बस्ने गरेका छन । लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले अधिकांश मानिस गाउँ छोडेर सहर जाने क्रम बढेको बतानुहुन्छ ।

भूकम्पले भत्किएका घर बनाएका छन तर बस्न गरेको पाईदैँन । २०३२ सालमा गाउँ छाडेर जानुभएको उहाँले पुन गाउँमा गएर किबी खेती सुरु गर्नुभएको छ । बाँझो भएका बारी खनेर मैले किबी खेती लगायत फलफुल खेती सुरु गरेको छु । विकास आएका छ, पहिला पो केही थिएन र मानिस हिड्ने गथ्र्ये तर अब त गाउँ फर्किने अभियान पो चलाउनुपर्ने अवस्था आइसकेछ ।

चौँरीदेउराली गाउँपालिका वडा न ४ का वडा अध्यक्ष सुरेश लामाले गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार नभएको भन्दै स्थानीयहरु सहर प्रवेश बढेको बताउनुहुन्छ । सबै सेवा सुविधा गाउँमा छ, बसौ न भन्दा पनि कोही मान्दैनन । उहाँले कोसिपारीका गाउँहरु सुनसान बन्दै गएको बताउनुभयो । चाडपर्व, चुनाव, केही कार्यक्रम भए सबैसँग भेटघाट हुन्छ अन्य समय मान्छे भेट्न मुश्किल नै छ । वडा अध्यक्ष लामाले भन्नुभयो ।

बैदेशिक रोजगारीमा श्रीमान गएपछि श्रीमती छोराछारी पढाउने भन्दै सहर जाने गरेका छन । युवा पढ्ने तथा रोजगारीका लागि सहर जाने गरेका छन । यसले भएका खेतबारी बाँझै बस्न थालेका छन भने घर भए पनि मानिस नहुँदा गाउँ नै कुरुप बन्दै गएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : ११:५९:१९ , ४ वर्ष अगाडि