कानेपोखरी कांग्रेसले मेलमिलाप कार्यक्रम गर्ने

Enepal Patra Pvt. Ltd. , २१३६  पटक हेरिएको

कानेपोखरी(मोरङ),१४ पुस । नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समितिले पुस १६ गते ४३ औं राष्ट्रिय मेलमिलाप दिवस मेलमिलाप कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
सोमबार कानेपोखरी बजारमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाका सभापति योगेन्द्र दाहालले कार्यक्रमका बारेमा जानकारी दिनुभएको हो । सभापति दाहालले विज्ञप्ति जारी गर्दै कार्यक्रमको औचित्य र आवश्यकता बारे जानकारी गराउनु भयो ।
विज्ञप्तिमा नेपालीका कांग्रेसले २०३३ साल देखि एउटा ऐतिहासिक दिनका रुपमा पु्स १६ लाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको उल्लेख छ । तत्कालिन सभापति वीपी कोइराला आफू विरुद्ध फाँसीको सजाय हुन सक्ने संगीन मुद्धाहरू नेपाली अदालतमा हुँदा हुँदै २०३३ साल पुस १६ गतेका दिन प्रवासबाट स्वदेश फर्कनु भएको थियो । सो ऐतिहासिक निर्णयले तत्कालिन विश्व राजनीतिको ध्यानाकर्षण गरेको थियो । राष्ट्रिय,अन्तर्राष्ट्रिय राजनीतिलाई विश्लेषण गर्दै वीपी कोइरालाले नेपाली राष्ट्रियतालाई खतराबाट जोगाउन र प्रजातन्त्रको पुनस्र्थापनाको लागि स्वदेश मै बसेर संघर्ष जारी राख्ने निर्णय गर्नु भएको थियो । त्यही बेला देखि नेपाली कांग्रेसले पुस १६ का दिनलाई महत्वका साथ राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परा रही आएको छ ।
कानेपाखरी ४ को बयरवन बजारमा हुने कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला प्रमुख अतिथि रहने जनाइएको छ । त्यस्तै केन्द्रीय सदस्य प्रदिप पौडेलको विशिष्ट आतिथ्यता रहने छ ।
गत पुस ८ गते पार्टी समायोजन भएपछि पहिलो पटक हुन लागेको कार्यक्रमले वयरवन , केरौन र होक्लाबारीका क्रियाशील सदस्यहरू,भातृसंस्थाका नेता तथा कार्यकर्ता र पार्टीका साधारण सदस्यहरू बीच मेलमिलाप गराउने महासमिति सदस्य जयराज संयोकले बताउनु भयो । सोही अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्न ईच्छाएका दुई सय बढीलाई कांग्रेसमा प्रवेश गराइने कार्यक्रम रहेको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मोरङ काठमाडौं सम्पर्क समितिका सह सचिव देवेन्द्र लुइटेल,क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य त्रिभुनाथ फुएल,हिमप्रसाद तिम्सिना लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: २०१९-१२-३० , समय : १०:४०:२८ , ४ वर्ष अगाडि