संसारको सबैभन्दा ठूलो जाँतो जाँतेमा

Enepal Patra Pvt. Ltd. , ५२८१  पटक हेरिएको

हरि कोइराला
लेटाङ(मोरङ) १३ पुस । मोरङको लेटाङ –९ जाँतेमा निर्माणाधीन संसारको सबैभन्दा ठूलो जाँतो निर्माण अन्तिम चरणमा पुगेको छ ।
साविक जाँते गाविसको प्रवेशद्वार धार्मिक चौकमा निर्माण भइरहको जाँतो प्रदेश सरकारको १० लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण भइरहेको हो । तत्कालिन जाँते मोरङ जिल्लामा ६२ वटा गाउँ पञ्चायत हुँदा पनि अस्तित्वमा थियो । तर, राज्य पुनर्संरचनाका क्रममा जाँते गाविस फुटाएर आधा लेटाङ नगरपालिकामा र आधा मिक्लाजुङ गाउापालिकामा समाहित गरियो ।
जाँतेको पहिचान र नाम जिवित गराउने उदेश्यले संसारको सबैभन्दा ठूलो जाँतो निर्माण गरिएको लेटाङ ९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताउनु भयो । लुइटेलले भन्नुभयो – जाँतेको पहिचान र नाम जिवित राख्न जाँतो निर्माण गरिरहेका छौं । उहाँले भ्रमण वर्ष २०२० का अवसरमा यसको औपचारिक उद्घाटन हुने बताउनु भयो । जाँतो निर्माणका लागि स्थानीयले ४ लाख रुपियाँ बरावरको जनश्रमदान समेत गरेको उहाँको भनाई छ ।
जाँतो निर्माण समितिका अध्यक्ष विमल लिम्बूका अनुसार जाँतो बनाइएको क्षेत्र १० धुर जग्गामा फैलिएको छ । चिटिक्कको पार्क भित्र ५ फिट गोलाईको विशाल जाँतो निर्माण गरिएको छ । जाँतोको स्थायी ढुङ्गा (तल्लापट्टीको) डेढ फिट उचाईको छ, भने माथिल्लो घुम्ने ढुङ्गा १५ इन्चको छ । काठको हातो निर्माण प्रक्रियामा छ भने २ किलो फलामको मानी छ ।
पार्क क्षेत्रको सौन्दर्यकरण गर्ने काम धमाधम भइरहेको अध्यक्ष लिम्बूले बताउनु भयो ।पार्कलाई घेरावारा र रङ्गरोगन गर्ने काम गरिरहेका छौं । सकेसम्म भ्रमण वर्षको सुरुवातमा नै उद्घाटन गर्ने लक्ष्य छ । जाँतो २०७६ को साउन २१ गते निर्माण गर्न थालिएको हो ।
ढुङ्गाको खानी हो – जाँते क्षेत्र । पहाडको फेदीमा रहेको जाँतेले भरखरै मात्र बिकास देख्न पाइरहेको छ । जाँते गाविसको नाम नै उसबेला जाँतोसँग जोडेर राखिएको स्थानीय वुढापाकाको भनाई छ । उसबेला जाँतो बिना जाँतेबासीको दैनिकी नै चल्दैन्थो ,स्थानीयले जाँतोको आवश्यकता माथि प्रष्ट्याउँदै भने ।

 

प्रकाशित मिति: २०१९-१२-२९ , समय : १०:०९:३८ , ४ वर्ष अगाडि