२०७७ फागुन ७ देखि १० सम्म कांग्रेसकाे १४ औ महाधिवेशन

बहुमतको आधारमा निर्णय, संस्थापन इतर पक्षको बहिष्कार

Enepal Patra Pvt. Ltd. , ६६७  पटक हेरिएको

काठमाडौं, ११ पूस । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कार्यसमितिको म्याद एक बर्ष थप्दै महाधिवेशनको मिति तोकेको हो ।

यस्तै, बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो । केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाको प्रस्ताव पनि पारित भएको छ । नेविसंघको बारेमा भने वैठकमा निर्णय भएन ।

मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको थियो । यसबिचमा भएका सहमतिका प्रयास पनि सफल हुन सकेन।

मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला समुहले बैठक बहिस्कार गरेपछि बसेको यो बैठकमा निर्णय गर्दा पनि वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर नेताहरु भने सहभागी थिएनन्।

देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल महाधिवेशन नगर्ने तयारी गरेसँगै पौडेल र सिटौला समुहले वैठक बहिस्कार गरेका थिए ।

प्रकाशित मिति: २०१९-१२-२७ , समय : २०:१९:२१ , ४ वर्ष अगाडि