नेपाल भारत सम्बन्ध नयाँ ढंगले ब्याख्या हुनुपर्ने

hari , १८५  पटक हेरिएको

काठमाडौं, चैत २७। नेपाल भारतवीचको सम्बन्धलाई नयाँ रुपमा परिभाषित गर्नुपर्ने नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै डा. शर्माले विगतको परम्परागत कुटनीतिका कारण नेपाल–भारतवीचको सम्बन्धमा दरार पैदा भएको बताए ।

अब नेपाल–भारतविचको सम्बन्धलाई धार्मिक र सांस्कृतिक कुटनीतिमार्फत नयाँ ढंगले व्याख्या गर्नुपर्ने डा. शर्माले जिकीर गरे । ‘अहिलेको भारतले हाम्रो कालिगण्डकीको ढुङ्गा टिपेर जनकपुरमा पुजा गरेर अयोध्यामा लगेर संसारका हिन्दुहरुले भगवान राम, सीता र लक्ष्मणको मुर्ति बनाएर प्राण प्रतिष्ठा गराएर भगवान यीनै हुन् भनिरहेको विद्यमान परिस्थितीमा अब हामीले धार्मिक कुटनीति र सांस्कृतिक कुटनीति मार्फत भारतसँगको सम्बन्धलाई नयाँ ढंगले व्याख्या गर्नुपर्छ ।’ डा. शर्माले नेपालको जलश्रोतको मुख्य बजार भारत नै रहेकाले नेपाल–भारत दुवैदेशलाई फाइदा पुग्ने गरी सम्बन्ध बनाउनु पर्नेमा पनि जोड दिए ।

नेपालको जलश्रोतको ठूलो बजार भारत र बंगलादेश रहेको जनाउँदै उनले प्रधानमन्त्रीको भारत भ्रमण अगावै उर्जा र जलश्रोतको विषयमा राजनीतिक संयन्त्र तयार गरेर घनिभूतरुपमा छलफल गर्ने होभने जनश्रोतको विकासको निम्ति भारतीय, बंगलादेशीहरु सहितको त्रीपक्षीय सम्झौता सम्भव रहेको जिकीर गरे ।

नेपालको भारत सँगको हाइड्रो ट्रेड ४५२ मेगावाट त्यो पनि वर्खाको सिजनमा हुने बताउँदै डा. शर्माले नेपालले २३ वटा प्रोजेक्ट मात्र सञ्चालन गर्ने होभने सन् २०३० सम्ममा ३० हजार मेगावाट विजुली उत्पादन गर्न सक्ने दावी गर्दै भने,‘३० हजार मेगावाट विजुली भारत र बंगलादेशसँग दुवै पक्षको वीनवीन हुने गरी विक्रि गर्न सक्यौं भने प्रेमप्रसाद आचार्यहरु जलेर मरेजस्तो धेरै नेपालीहरु जलेर मर्नुपर्ने अवस्थाको अन्त्य हुने थियो । देशको आर्थिक अवस्था माथी जाने थियो । हाम्रा बच्चाहरुले राम्रो स्कुलमा पढ्न पाउने थिए ।’

नेपाली उद्योगी, व्यापारीहरु र भारतीय उद्योगी व्यापारीहरु जो हाइड्रोमा लगानी गर्न तयार छन् उनीहरु विच फास्टट्रयाकबाट राजनीतिक संयन्त्र बनाएर छलफल गरी ठूल्ठूला विद्युत ड्यामहरु बनाएर भारत र बंगलादेशलाई विजुली बेचेर समुन्नत नेपालको परिकल्पना गर्नुपर्ने डा. शर्माको सुझाव छ ।

साथै, उनले निकट समयमै भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई पनि भारत भ्रमण हतारमा नगरेर सबै राजनीतिक दलहरुसँग सल्लाह सुझाब लिएर ठोस योजनाका साथ जान सुझाए ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको प्रतिनिधित्व हुनेगरी फास्टट्रयाक कमिटि बनाएर कर्मचारीतन्त्रको मात्र भरमा नपरेर शक्तिशाली आयोग वा संयन्त्र बनाएर भारतीय उद्यमीहरुसँग, भारतको सत्तासँग समझदारी कायम गरेर दुवै पक्षको विनविन हुने वातावरण बनाएर ३० देखि ३५ हजार विजुली भारतीय बजारमा बेच्नुपर्नेमा डा. शर्माको जोड छ ।

भारतमा पिक आवरमा विद्युतको माग अत्याधिक रहेको जिकीर गर्दै सांसद शर्माले पिक आवरमा विजुली दिनसक्ने हैसियत र क्षमता नेपालसँग रहेकोले बजार जोसँग छ त्यसैसँग समझदारी कायम गरेर अगाडी बढ्नु पर्ने बताए ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : १८:३६:५२ , १ वर्ष अगाडि