Enepal Patra Pvt. Ltd. , ६०६ पटक हेरिएको
काठमाडौं, ११ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ललितपुर जिल्लाका महालक्ष्मी नगरपालिकाका प्रमुख लेखा अधिकृतसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
तीनैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार टंगालबाट खटिएको टोलीले महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीलाई तीस हजार रुपियाँ घुससहित नियन्त्रणमा लिएको हो । दुबैजनाले सूचना प्रकाशन गरेकोमा भुक्तानीका लागि सेवाग्राहीसँग तीस हजार रुपियाँ घुस वापत् लिनुभएको प्रवक्ता कोइरालाले बताउनुभयो ।
आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र प्रहरी सहायक हवल्दारलाई नियन्त्रणमा लिएको छ । रुपन्देहीस्थित विष्णुपुरा सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत हवल्दार विरेन्द्रप्रसाद चौधरीले सेवाग्राहीबाट छ हजार रुपियाँ घुस लिएको आरोपमा पक्राउ परेको आयोगले जनाएको छ । उक्त प्रकरणमै आयोगले बेसक्याम्पका प्रहरी निरीक्षक तेजबहादुर जोरालाई नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले बताउनुभयो । घरायसी मालसामान ओसारपसारमा सहजीकरण गर्न चौधरीले घुस लिनुभएको आयोगको दाबी छ ।
प्रकाशित मिति: २०१९-१२-२७ , समय : १०:४४:३२ , ५ वर्ष अगाडि