कानेपोखरीमा वार्षिक ४७ करोड २९ लाख रुपियाँ रेमिट्यान्स भित्रिने

hari , ३७९  पटक हेरिएको

कानेपोखरी,१९ फागुन । मोरङको कानेपोखरी गाउँपालिकाले पालिकाबाट २ हजार ६४९ जना युवा बैदेशिक रोजगारमा गएको तथ्याङ्क सार्वजनिक गरेको छ । सामी परियोजना सहयोग इकाई र हेल्भेटास नेपालले प्राविधिक सहयोगमा गाउँपालिकाले यो तथ्याङ्क तयार गरेको हो ।
मध्येरङको कानेपोखरी गाउँपालिकामा ९ हजार ४६७ घरधुरी रहेकाछन् । उक्त घरधुरीको जनसंख्या ३८हजार ८२४ रहेकोछ । जनसङ्ख्या र घरधुरीलाई तुलना गर्दा २८ प्रतिशत (२,६४९ घरधुरी)का युवा कुनै न कुनै वैदेशिक रोजगारमा गएको देखिन्छ । बैदेशिक रोजगारमा गएका मध्ये ८७३ घरधुरीका युवा कामदार स्वदेश फर्किसकेका छन् भने १ हजार ७७६ घरधुरीका युवा वैदेशिक रोजगारीमा नै कार्यरत छन् । बैदेशिक रोजगारमा कानेपोखरीबाट गएका युवाले प्रति वर्ष ४७ करोड २९ लाख रुपियाँ रेमिट्यान्स पठाएको तथ्याङ्कमा उल्लेख छ ।
कानेपोखरी गाउँपालिकाले बैदेशिक रोजगारबाट फर्किएका युवाको सीपबाट उद्यम सुरु गर्न र बिदेश जान चाहनेलाई सीप प्रदान गर्ने उदेश्यले बैदेशिक रोजगार सम्बन्धी पाश्र्वचित्र तयार गरेको पालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । अध्यक्ष इङ्नामले भन्नुभयो–बिदेशमा दुख गरेर कमाएको पैसा उचित स्थानमा सदुपयोग गराउनु स्थानीय सरकारको हैषियतले गाउँपालिकाको कर्तब्य हो । हिजो हामी कालोपत्रे सडक,बिजुली,ड्रेन निर्माण लगायतका भौतिक पूर्वाधारको विकासमा लाग्यौं । अब मानव संसाधनको बिकास,बिदेशी सीपको उपयोगिता र कृषि उत्पादन वृद्धिमा लाग्नुछ । त्यसैले कृषि तथा पशु उत्पादन, माछा र दूधको निर्यात गर्ने जग निर्माणका लागि हामीले बैदेशिक रोजगार पाश्र्वचित्र तयार गरेका हौं ।’
बिदेशबाट आउने रेमिट्यान्स मध्ये ७० प्रतिशत खाडी र मलेसियाबाट प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो–८२ घरधुरीमा त वृद्ध बाबुआमालाई छोडेर छोरा बुहारीहरू कमाउन गएको पायौं । घिमिरेले बिगतमा बिदेशबाट आएको रेमिट्यान्स घरघडेरी खरिदमा बढी खर्च भएको देखिन्छ । हाम्रो उदेश्य उत्पादनसँग जोड्ने हो । सीपको अभावमा बीचमै काम छोडेर आउनु नपरोस भन्ने उदेश्य हो । उहाँले थप्नुभयो–सङ्घ र प्रदेश सरकारले स्थानीय सरकारको बजेट कटौति गरिरहेको अवस्थामा स्थानीय सरकारहरूले आन्तरिक आम्दानीका स्रोतहरू निर्माण गर्न आवश्यक छ । कानेपोखरी गाउँपालिका बिदेश गएको जनशक्तिबाट प्राप्त रेमिट्यान्स र सीप सिकेर फर्किएको जनशक्तिलाई कृषि उत्पादनसँग जोड्न आफ्नै वारी अग्र्यानिक माछापोखरी कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।
वार्षिक करोडौं रुपियाँ भित्रिए पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेकोले उक्त पुँजीलाई सदुपयोग गर्ने उदेश्यले सामी परियोजना सहयोग इकाई र हेल्भेटास नेपालको सहकार्यमा पाश्र्वचित्र तयार गरिएको घिमिरेको भनाई छ ।

प्रकाशित मिति: २०२३-०३-०३ , समय : ०८:४१:५२ , १ वर्ष अगाडि