ईनेपालपत्र समाचारदाता , ६२७ पटक हेरिएको
विराटनगर, २० मंसिर । उदयपुरका पत्रकार गजेन्द्र राईलाई तत्काल रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, प्रेस युनियनका अध्यक्ष भोजराज बस्नेत, प्रेस चौतारी अध्यक्ष सुदीप कोइराला, प्रेस सेन्टरका अध्यक्ष अर्जुन आचार्य लगायत पत्रकारका विभिन्न संगठनले संयुक्त रुपमा गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराईएको छ ।
पत्रकार राईलाई समाचार लेखेकै विषयमा ‘साईबर क्राईम’ गरेको अभियोगमा उदयपुर प्रहरीले रिपोर्टिङकै सिलसिलामा नियन्त्रणमा लिएर राखेको ९ दिन भईसकेको छ । पत्रकार राईलाई लगाईएको आरोप प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र पर्ने भएपनि प्रहरीले त्यसतर्फ कुनै समन्वय नगरी गिरफ्तार गर्नुले नेपालमा साईबर क्राईम ऐन कार्यान्वयन गर्ने काम नितान्त पत्रकारलाई ‘तह लगाउने’ बदनियतपूर्ण कार्य भएको महासंघको ठहर छ ।
पत्रकार राईलाई तत्काल बिनाशर्त रिहा गरी उनीमाथि लागेको अभियोगको छानविन गर्र्ने जिम्मा पत्रकार र पत्रकारिताक्षेत्रको छानविन, कारबाही र नियमन गर्ने अधिकार प्राप्त अद्र्धन्यायिक निकाय प्रेस काउन्सिल नेपाललाई सुम्पन जोडदार माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल मार्फत गृहमन्त्री खाँड ध्यानाकर्षणपत्र बुझाईएको छ । राईलाई निशर्त रिहा नगरिए देशभरका कलमजीविहरु अनिश्चितकालीन आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने चेतावनी दिईएको छ ।
प्रकाशित मिति: २०२२-१२-०६ , समय : ११:१४:४७ , ३ वर्ष अगाडि