ऋण लिन अब कर चुक्ता, घर कर्जामा झन कडा

Enepal Patra Pvt. Ltd. , ६८२  पटक हेरिएको

काठमाडौं ९ पुस । राष्ट्र बैंकले घर कर्जाजस्ता किस्ता भुक्तानीमा आधारित ऋणलाई कडाइ गरेको छ ।

घर कर्जा, हायर पर्चेज कर्जा र व्यक्तिगत प्रकृतिका आवधिक कर्जालाई राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गरेर कडाइ गरेको हो ।

केन्द्रीय बैंकले ‘गैर व्यावसायिक’ भनेको यस्ता कर्जा लिन अब ऋणीले आयस्रोत खुल्ने कागजात मात्रै पेस गरेर पुग्दैन ।

‘आम्दानीको स्रोतमा कर चुक्ता गरेको अद्यावधिक प्रमाणपत्रका आधारमा मात्र ऋणीको वार्षिक कुल आय गणना गर्नुपर्ने’ व्यवस्था राष्ट्र बैंकले गरको छ ।

त्यसरी ऋण दिँदा ऋणीको वार्षिक आम्दानीको बढीमा ५० प्रतिशत रकमले बैंकको किस्ता तिर्न भ्याउने हदसम्म मात्रै ऋण दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसअघि बैंकहरूले ऋणीको आम्दानीमा जीविकोपार्जन खर्च नियमित दायित्वको रकम घटाएर बचेको रकमका आधारमा कर्जा सीमा निर्धारण गर्दै आएका थिए ।

आम्दानी गरेर पनि कर चुक्ता हुन नसकेको अवस्थामा बैंकलाई आय देखाउन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यस्तो व्यवस्थाले घर कर्जा र खुद्रा व्यवसायीलाई दिइने व्यक्तिगत कर्जामा समस्या पर्ने बैंकरले बताएका छन् ।

‘अहिले घरभाडा कर अधिकांशले तिरेका छैनन् । त्यस्तो आम्दानी देखाएर ऋण लिन अब समस्या हुने भयो,’ नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना भन्छन् । (अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति: २०१९-१२-२५ , समय : ०७:३६:२९ , ४ वर्ष अगाडि