खेल्ने मन र इच्छालाई उमेर छेकेन’

enepalpatra , २६२  पटक हेरिएको

–धनबहादुर गुरुङ
अन्नपूर्ण (कास्की), ३ कात्तिक । सङ्खुवासभाका खेलाडी धनबहादुर घले ६१ वर्ष पुग्नुभयो । उहाँको उमेरले सकुशल आराम खोज्दैछ तर, उहाँ स्क्वासको ¥याकेट बोकेर अझै कोर्टमा भेटिनुहुन्छ । उहाँको खेल्ने मन र इच्छालाई उमेर छेकेको छैन । यसैले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै खेल्न आउनुभएको छ । उहाँ यस प्रतियोगिताको सबैभन्दा बढी उमेरका खेलाडी हुनुुहन्छ ।

पोखरामा असोज २८ देखि सुरु भएको खेलकुदको कुम्भमेलामा भेला भएका छ हजार एक सय ५७ खेलाडीमध्ये घले सबैभन्दा पाका खेलाडी हुनुहुन्छ । विसं २०१८ वैशाख ५ गते सङ्खुभासभा खाँदबारी नगरपालिकामा जन्मनुभएका उहाँले उमेर छदासम्म सिङ्गापुर पुलिसमा सेवा गर्नुभयो । सेवाकै क्रममा घलेले स्क्वास खेल्न सिक्नुभयो ।

सिङ्गापुरमा निकै लोकप्रिय स्क्वासमा विभिन्न प्रतियोगिता खेल्नुभयो । सिङ्गापुरमा २६ वर्ष सात महिना सेवा गरेर उहाँ अवकाश लिनुभयो । नेपाल आएर उहाँले धेरै ठाउँमा स्क्वास खेल्न खोज्नुभयो तर, ठाउँ भेट्नुभएन् । सातदोबाटो स्क्वास बनिसकेको थिएन । पूर्वमा पनि स्क्वासको भौतिक संरचना थिएन । उहाँ काठमाडौँ पुगेर साथी भाइसँग रमाइलोका लागि खेल्न थाल्नुभयो ।

उहाँको खेल निकै राम्रो थियो । उहाँको खेल कौशल थाहा पाएर नै उहाँलाई प्रदेश १ को स्क्वास सङ्घले आग्रह गरेपछि उहाँ पोखरा आउनुभएको हो । पूर्वमा खेलाडी अभाव भएको हुँदा सङ्घले नै अनुरोध गरेपछि प्रदेश एकलाई प्रतिनिधित्व गर्दै खेल्न आएको उहाँले बताउनुभयो । उहाँ पहिलो खेलमा पराजित हुनुभयो तर, उहाँलाई हार व्यहोर्नुपरेकोमा कुनै दुख छैन । नाती पुस्तासँग खेलेर हार्न पनि छुट्टै आनन्द हुने उहाँ सुनाउनुहुन्छ । आफूहरुले पछिल्लो पुस्तालाई प्रेरणा र हौसला दिइरहनुपर्ने उहाँको धारणा छ । व्याक्तिगत प्रतिस्पर्धामा हारे पनि टिममा राम्रो गर्ने उहाँले बताउनुभयो ।

उहाँसँगै प्रदेश १ बाट ५७ वर्षका वीरबहादुर नेपाल पनि खेलाडी भएर पोखरा आउनुभएको छ । घलेभन्दा चार वर्ष कान्छा नेपालले खेल्न मन भएपछि उमेर नछेक्ने बताउनुभयो । पाँचौँ राष्ट्रिय खेलकुदबाट खेल्न सुरु गर्नुभएको उहाँ नवौँसम्म निरन्तर हुनुहुन्छ । पाँचौँ राष्ट्रिय खेलकुदमा रजत पदक, छैटौँ, सातौँ र आठौँमा कास्य पदक जित्नुभएको उहाँले जानकारी दिनुभयो । घले र नेपाल पाका खेलाडी भए पनि खेलमा उमेरले नछेकेको उहाँहरुको भनाइ छ ।

घले र नेपालको खेल कौशलका कारण नै उहाँहरुलाई छनोट गरेर पोखरा आएको प्रदेश नम्बर १ का स्क्वासका प्रशिक्षक अनिल बज्राचार्यले जानकारीदिनुभयो । “उमेर छिप्पिदै गएपनि उहाँहरुको खेलबाट म प्रभावित छु”, उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमा स्क्वासका खेलाडी पनि कम छ । त्यसैले पनि उहाँहरुको खेल र खेल्ने इच्छाशक्तिका कारण लिएर आएको हुँ ।”

प्रकाशित मिति: २०२२-१०-२० , समय : १०:३६:५४ , १ वर्ष अगाडि