ईनेपालपत्र , ३७२ पटक हेरिएको
काठमान्डौ ,२५ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभामा चिकित्सकहरूले उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगले हिजो (आइतवार)का लागि प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिने अन्तिम दिन तोकेको थियो। आइतवार भएको उम्मेदवारी दर्तामा केही चिकित्सक स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रिएका छन् भने केहीले ठूला राजनीतिक दलबाटै उम्मेदवारी दिएका छन्।
चितवनस्थित भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका जनरल फिजिसियन डा. भोजराज अधिकारी आगामी प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं ३ बाट माओवादीको कोटाबाट गठबन्धन उम्मेदवार बनेका छन्। उम्मेदवारी दिने अघिल्लो दिनसम्म विरामी परीक्षण गरिरहेका डा. अधिकारी अस्पतालको विकास समिति अध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्।
ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. तोशीमा कार्कीले उम्मेदवारी दर्ता गराएकी छिन्। डा. गोविन्द केसीको अनशनलाई सघाउँदै आएकी डा. कार्कीले यसअघि नै ‘स्वस्थ नेपाली सुखी नेपाली’को नारा सहित केही समय अगाडि नै उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। सोहीअनुरूप उनले ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकी हुन्। हाल पाटन अस्पतालमा जनरल सर्जनको रूपमा कार्यरत उनी किस्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर हुन्।
यस्तै कान्तिपुर डेन्टल कलेजका सञ्चालक समेत रहेका डा. बुद्धिमान श्रेष्ठले पनि एमालेका तर्फबाट प्रदेशसभाका लागि स्याङ्जा २ ख बाट उम्मेदवारी दर्ता गराएका छन्।यसका साथै काठमाडौँ मेडिकल कलेज, विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक रहेका डा. सुनिल शर्मा पनि नेपाली कांग्रेसका तर्फबाट विराटनगर ३ बाट उम्मेदवार बनेका छन्। यसअघि २०७४ को निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए। त्यसवेला उनी पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग पराजित भएका थिए।
यता काठमाडौँ क्षेत्र नं ५ बाट राप्रपाका तर्फबाट प्रा.डा. रामप्रसाद उप्रेतीले उम्मेदवारी दिएका छन्। उनी केही वर्षअगाडि चिकित्सा शास्त्र अध्ययन संस्थान ( आइओएम) बाट सेवानिवृत्त भएका हुन्।नवलपुर-१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका डा. शशांक कोइराला पनि चिकित्सक हुन्। मोरङ-६ बाट उठेका डा. शेखर कोइराला पनि काँग्रेसका तर्फबाट चुनावी मैदानमा छन्।
यस्तै समानुपातिक सूचीमा पनि चिकित्सकहरू प्राथमिकतामा परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फका बन्दसूचीमा पहिलो र दोस्रो नम्बरमा नै चिकित्सक सिफारिस भएका छन्। पहिलो नम्बरमा कास्कीका डाक्टर ढाकाकुमार श्रेष्ठ सिफारिस भएका छन्।
श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक हुन्। यस्तै डा. चन्दा कार्की दोस्रो नम्बरमा परेकी छन्। लामो समय चिकित्सा पेशा र चिकित्सा अध्यापनमा सक्रिय डा. कार्की प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।
प्रकाशित मिति: २०२२-१०-११ , समय : ०६:५७:४७ , ३ वर्ष अगाडि