enepalpatra , ३६८ पटक हेरिएको
काठमाडौँ ,१५ भदौ। नेपाल सरकारका दुई सचिवबिच मङ्गलवार घम्साघम्सी परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (जलस्रोत तथा सिँचाइ) सागर कुमार राई र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीबिच कार्यालयमै कुटाकुटको अवस्था सिर्जना भएको छ ।
प्रशासन विशेष स्रोतका अनुसार सुनसरी मरुन् सिँचाइ ठेक्काको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा रिजर्भेसन रहेको जनाउदै सच्याउन भनेको थियो । सोबारे कुरा गर्न सिँचाइ सचिव राई आफै सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए ।
झोक्किँदै पुगेका राईले बुर्लाकोटीलाई ‘तपाईँहरू ठेकेदारहरूसँग मिल्नुहुन्छ ?’ भनेसँगै सचिव बुर्लाकोटीले ‘ठेकेदारसँग को मिलेको भेरिफाई गरौँ, गलत सर्त राखेर तपाई मिलेको कि म मिलेको’ भन्ने जवाफ दिएसँगै एकछिन माहोल थप गरमागरम बन्न पुथ्यो । त्यसपछि राई आक्रोशित हुँदै रिसाएर हिँडे । दुई सचिवको बम्काबम्कीसँगै अन्य कर्मचारी एकछिन हेरेको हेर् यै भए ।
प्राप्त जानकारी अनुशार सिँचाइले बोलपत्रको अनुभव सम्बन्धी सर्तको एउटा बुँदामा …‘आउट अफ होम कन्ट्री’ भन्ने उल्लेख गरेको विषयमा सार्वजनिक खरिदले प्रश्न उठाउँदै मौखिक रूपमा त्यसलाई सच्याउन भनेको थियो । ‘जताततै ठेक्कामा मिलेमतो भइरहेको र खरिद अनुगमन कार्यालयले औँल्याएपछि कतिपय सच्याएको तथा कतिपय रद्द नै भएको अवस्थामा सिँचाइको बोलपत्रमा पनि कुनै अमुख व्यवसायीलाई दिन खोजिएको हो कि भन्ने शङ्का गर्नु अन्यथा होइन’, सहभागी एक कर्मचारीले भने । ‘तर यति भन्दै सिँचाइ सचिवज्यू रिसाई हाल्न हुन्न थ्यो, कै किन झोक्किनु भयो’
यसबारे बुझ्न खोज्दा सिँचाइ सचिवले ‘होइन अव त्यस विषयमा किन जाने छोड्दिऊँ’ भन्दै थप कुरा गर्न चाहेनन् भने सार्वजनिक खरिद अनुगमका सचिव बुर्लाकोटी पनि ‘कहिलेकाहीँ छलफलमा हुने यस्ता विषय सामान्य हुन्’ भन्दै उनले पनि थप बोल्न चाहेनन् ।
पछिल्लो समय सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रमा हुने सेटिङमा निगरानी बढाएसँगै कैयन करोडौँका ठेक्काहरू सच्याएर पुनः टेन्डर भएका छन् भने कतिपय रद्द नै पनि भएका छन् । खरिद अनुगमनको उक्त कदमसँगै सीमित कर्मचारी र व्यवसायीको मिलेमतोमा स्पेसिफिकेसनमै हुने गरेको सेटिङ नै खलबलिएको छ ।
प्रसासन बाट
प्रकाशित मिति: २०२२-०८-३१ , समय : २१:५२:५१ , ३ वर्ष अगाडि