बाख्रापालनबाट आर्थिक रुपान्तरण,जिल्ला कै नमुना बाख्रापालन

Enepal Patra Pvt. Ltd. , २२३४  पटक हेरिएको

रङ्गेली,६ पुस । मोरङको रङ्गेली –८ दर्बेशाका फणेन्द्र सुबेदीले ६ वर्ष अघि धान खेत मासेर बाख्रापालन गर्न घाँस लगाउँदा जोरी पारी सबैले ओठ लेप्¥याए । केहीले दुई बाली धान फल्ने खेतमा घाँस लगाउँदा सुबेदी भात खान नपाएर पछुताउने भयो भन्दै चिया गफ गरे । तर, अहिले सुबेदीको आर्थिक रुपान्तरण जिल्ला मै नमूना बनेको छ ।
अहिले फणेन्द्र मात्र होइन उहाँका बिदेश गएका दुईबटै छोरा घर फर्केर बाख्रापालनमा रमाइरहनु भएको छ । बाख्रापालनको सफलता सुबेदी परिवारले बोलेर मात्र ब्यक्त गर्न गाह्रो छ । उहाँको सावित्रा बाख्रा फारममा यतिबेला एक सय १५ वटा बोका,पाठा,पाठी र माउ बाख्रा छन् । झण्डै एक कट्ठा जग्गामा बनेको आधुनिक खोरमा खण्ड खण्ड गरी बीउ बोका,पाठा–पाठी,बोका र माउ बाख्रा राखिएको छ । पछिल्लो ३ वर्ष यता सुबेदीले बोयर जातका बाख्रा उत्पादनमा लगानी गरिरहनु भएको छ । सानै उमेरमा खदिलो हुने र रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकोले बोयर बाख्रापालनमा जोसखम कम हुने उहाँको अनुभव छ । स्थानीय जातका बाख्रामा बोयर बोकाबाट प्रजनन गराई पाठापाठी उत्पादन गरिहेको उहाँले बताउनु भयो ।
गत वर्ष सुबेदीले पाठा पाठी बिक्री गरेर १६ लाख रुपियाँ आम्दानी लिनुभयो । त्यो आम्दानी खर्च कटाएर हो । चालु वर्ष २८ लाख रुपियाँ आम्दानी लिने लक्ष्यका साथ ब्यवसाय गरिरहेको उहाँको भनाइृ छ । उहाँले भन्नुभयो , पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ । २०७० को असारमा सुरु गरेको बाख्रापालन ब्यवसायले काम र दाम मात्र होइन । सुबेदीले सामाजिक सम्मान पनि धेरै बटुलिसक्नु भएको छ । ।
बोका–पाठीको माग धान्न उहाँलाई हम्मे–हम्मे छ । जन्मिने वित्तिकै ‘बुक’हुन्छ –फणेन्द्रकी पत्नी सावित्राले खुशी ब्यक्त गर्नुभयो । उहाँले थप्नुभयो ,अहिले सबै साढे ३ विगाहा जग्गामा बाख्रे घाँस लगाएका छौं । बाख्राको जुतो बेचेर गत वर्ष ७० हजार रुपियाँ आम्दानी भयो । यो वर्ष १ लाख बढी हुने अनुमान गरेकी छु । झापाको चन्द्रगढीस्थित चिया बगानले जुतो मल प्रति बोरा ३ सय रुपियाँका दरले लाने गरेको सावित्राले सुनाउनु भयो ।
फारममा परिवारका सदस्य बाहेक अरु ३ जनाले रोजगार पाएका छन् । जुतो र घाँसको नर्सरीबाट हुने आम्दानीले कामदारलाई दिने तलव पुग्छ । घाँसको नर्सरी पनि ब्यावसायिक रुपमा सञ्चालन भइरहेको सुबेदीले बताउनु भयो ।
सुबेदीले २ वर्ष यता रङ्गेली नगरपालिका र प्रदेश सरकारबाट ५ लाख रुपियाँ अनुदान पाई सक्नु भएको छ ।अचेल उहाँलाई निरन्तर व्यवसाय गर्दा सरकारले पनि सहयोग गर्दो रहेछ भन्ने लाग्न थालेको छ । सुबेदीले भन्नुभयो, –अनुदान पाउँन व्यवसाय गर्ने हैन ।व्यवसाय गरेर अनुदान लिनुपर्छ ।’
उहाँको फारमलाई रङ्गेली नगरपालिकाले बाख्रापालन स्रोत केन्द्रका रुपमा बिकसित गर्ने भएको छ । नगरपालिकाले अष्ट्रेलियाबाट सतप्रतिसत बोयर जातको बोका ल्याएर स्रोत केन्द्रलाई उपलब्ध गराउने सहमति भईसकेको सुबेदीले बताउनु भयो । नगरका ९ वटै वडालाई १÷१ वटा र स्रोत केन्द्रलाई एउटा बोका दिने निर्णय भएको छ ।
हाल सम्म फारममा ३५ लाख रुपियाँ लगानी भइसकेको छ । स्रोत केन्द्र बन्यो भने अझ ५ लाख रुपियाँ लगानी गर्छु, उहाँले भन्नुभयो । राष्ट्रिय वाणिज्य बैंकबाट पशुपालन र कृषि कर्जा लिएर व्यवसाय सुरु गर्नु भएका सुबेदी सुरुका दिनमा १० प्रतिशत ब्याज तिर्नु हुन्थ्यो । तर, ब्यावसाय सफल हुँदै गएपछि बैंकले ५ प्रतिशत मात्र ब्याज लियो । हाल उहाँ २ दशमलव ५ प्रतिशत ब्याजमा कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहनु भएको छ ।

प्रकाशित मिति: २०१९-१२-२२ , समय : ०९:०५:१२ , ४ वर्ष अगाडि