आयात प्रतिबन्धले घट्यो राजस्व

enepalpatra , ५२४  पटक हेरिएको

काठमान्डौ,  १८ साउन ।  विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले लिएको भन्सार राजस्वको लक्ष्य पूरा हुन सकेन ।

अर्थ मन्त्रालयका अनुसार दुई खर्ब ७८ अर्ब ९२ करोड रुपियाँ भन्सार महसुल उठाउने लक्ष्य रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म दुई खर्ब ४१ अर्ब ७८ करोड रुपियाँ मात्र सङ्कलन भएको छ । लक्ष्यको तुलनामा ३७ अर्ब १४ करोड रुपियाँ कम हो ।

भन्सार महसुलअन्तर्गत आयातबापत सरकारले एक खर्ब ८७ अर्ब ३१ करोड रुपियाँ सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा २६ अर्ब ४८ करोड रुपियाँले कम हो । गत आर्थिक वर्षमा सरकारले आयातबाट दुई खर्ब १३ अर्ब ७९ करोड रुपियाँ भन्सार महसुलको लक्ष्य राखेको थियो ।

गत वैशाख १४ गते सरकारले विभिन्न दस वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यसलाई भदौ १४ गतेसम्म कायम हुने गरी साउनदेखि संशोधनसहित निरन्तरता दिइएको छ । यसअनुसार १५० सीसीभन्दा माथिका मोटरसाइकल, तीन सय डलरमाथिका मोबाइल, कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तिजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, एम्बुलेन्स र शववाहनबाहेक जिप कार र भ्यान, सबै प्रकार खेलौना र तासको आयातमा प्रतिबन्ध लगाइएको छ ।
गत आर्थिक वर्षमा आयातमा लगाइने अन्तःशुल्कको लक्ष्य पनि पूरा भएको छैन । तर आयातित वस्तुमा लाग्ने मूल्य अभिवृद्धि करको लक्ष्य भने सरकारले पूरा गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा आयातबाट ७१ अर्ब ४० करोड रुपियाँ अन्तःशुल्क उठाउने लक्ष्य राखिएकोमा ५७ अर्ब ३८ करोड रुपियाँ मात्र सङ्कलन भएको छ । त्यस्तै एक खर्ब ७९ अर्ब ६८ करोड रुपियाँ मूल्य अभिवृद्धि कर सङ्लनको लक्ष्य भने एक खर्ब ९८ अर्ब ४३ करोड रुपियाँ सङ्कलन गरेर पूरा भएको छ ।

समग्रमा गत आवमा भन्सारबाट पाँच खर्ब ३० अर्ब रुपियाँ सङ्कलन गर्ने सरकारको लक्ष्य रहेकोमा चार खर्ब ९७ अर्ब ६० करोड रुपियाँ मात्र सङ्कलन भएको मन्त्रालयको तथ्याङ्क छ । भन्सार राजस्वमा मुख्य गरी आयातित वस्तुमा लगाइने महसुलमा निर्भर हुने भएकाले आयात नीतिमा हुने हेरफेरले नेपालको समग्र राजस्वमै असर गर्छ ।

आयातबाहेक भन्सारबाट उठाइने अन्य किसिमका महसुल पनि लक्ष्यअनुसार नउठेको पाइएको छ । गत आर्थिक वर्षमा निर्यातबापत ६२ करोड ४९ लाख रुपियाँ महसुल सङ्कलनको लक्ष्य लिइएकोमा ४० करोड रुपियाँमा मात्र सीमित भएको छ । त्यस्तै २६ अर्ब २९ करोड रुपियाँ पूर्वाधार कर उठाउने लक्ष्य पनि २४ अर्ब रुपियाँमा सीमित भएको छ ।

भन्सार महसुलअन्तर्गत नै उठाइने कृषि सुधार शुल्क पनि करिब दुई अर्ब न्यून सङ्कलन भएको छ । गत आर्थिक वर्षमा ११ अर्ब कृषि सुधार शुल्क उठाउने लक्ष्य रहेकोमा आठ अर्ब ८९ करोड रुपियाँ मात्र सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै १४ अर्ब ९७ करोड सडक मर्मत तथा सुधार दस्तुर सङ्कलन गर्ने लक्ष्य रहेकोमा ११ अर्ब ७९ करोड रुपियाँ मात्र सङ्कलन भएको छ । सडक निर्माण तथा सम्भार दस्तुर नामको अर्को शीर्षकबापत १० अर्ब ६८ करोड रुपियाँ भन्सार महसुल सङ्कलन गर्ने लक्ष्य रहेमा सात अर्ब ४० करोड रुपियाँ मात्र सङ्कलन भएको तथ्याङ्क छ । भन्सारको अन्य आय भने लक्ष्यभन्दा बढी उठेको छ । १४ अर्ब ५७ करोड रुपियाँ अन्य आय उठाउने लक्ष्य राखिएकोमा १९ अर्ब २७ करोड रुपियाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ  ।

प्रकाशित मिति: २०२२-०८-०३ , समय : ०६:२७:४६ , २ वर्ष अगाडि