ब्रह्मदेव यादव , ९१२ पटक हेरिएको
विराटनगर, १२ साउन ।संघीय र प्रदेश सरकारले मोरङ जिल्लामा पशुपालनतर्फ मात्रै ५ करोड रुपैयाँ लगानी गरेको छ।
यस बाहेक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रमार्फत मोटो रकम अनुदान लगानी गरेको छ । संघीय र प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङमार्फत दुग्ध, बाखा, पाठी, बंगुर र माछा पालनतर्फ ५ करोड रूपैयाँ अनुदान लगानी गरेको हो।
संघीय सरकारले २ करोड ४१ लाख र प्रदेश नं. १ सरकारले २ करोड १२ लाख रूपैयाँ लगानी गरेको अनुदान रकम किसानले फिर्ता गर्नु पर्दैन । तर सरकारमा रहेका राजनीतिक दल निकट नेता र कार्यकर्ताले किसानको हैसियतमा लिएको अनुदान रकमको दुरुपयोग हुनेमा दुई मत छैन । जुन राजनीतिक दल सरकारमा छ र जुन पार्टीको विभागीय मन्त्री छ, त्यहि पार्टी र मन्त्री निकट नेता कार्यकर्ताले किसानको हैसियतमा अनुदान रकम पाउने भएकोले वास्तविक किसान समक्ष अनुदान रकम पुग्न सकेको छैन ।
मोरङ र सुनसरीमा विगतमा सरकार संचालन गरेका र अहिलेपनि सरकारको नेतृत्व गरिरहेका राजनीतिक दल निकट नेताको करोडको लगानीमा माछा पोखरीहरू छ र अनुदान रकम वापत संचालन गरेको माछापोखरीबाट वर्षको करोडौको रकमको माछा बिक्री गरेर विलासी जीवन बिताइरहेका छन्। तर ग्रामीण क्षेत्रका मध्यम वर्गीय किसानको आयस्तर जहाँको त्यहीं छर
भरको घर जग्गा बैंकमा धितो राखेर लिएको ऋणको व्याज तिर्ने अवस्था छैन ।
तर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. सुशिलकुमार अधिकारीले मोरङलाई दुग्ध, बाखा, पाठी, बंगुर र माछा उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान रकम वितरण गरिएको दावी गरे ।
कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा वितरण गरेको अनुदान रकमलाई फलोअप कार्यक्रम मार्फत निरन्तरता • दिएको छ। जसको कारण विगतमा पाएको अनुदान रकमले व्यवसाय संचालन गरिरहेका पार्टी निकट नेता कार्यकर्ताले किसानको हैसियतमा पाएको मोटो रकम अनुदान विभिन्न थप व्यवसायमा परिचालन गर्ने छन् ।
कार्यालयका पशु विकास अधिकारी तथा सूचना अधिकारी बडेलाल यादवले कृषि, पशु, सहकारी संस्थामार्फत व्यवसायिक पशु पालन केन्द्र कार्यक्रम अन्तर्गत जहदा गाउँपालिका-१ को जय किसान कृषि सहकारी संस्था लिमिटेडलाई २५ लाख र सुनवर्षी
नगरपालिका ४ स्थित गान्धी आश्रम कृषि सहकारी संस्था लिमिटेडलाई गाईपालन, घाँसको बिऊ बेर्ना उत्पादनका लागि फलोअप कार्यक्रममार्फत २० लाख, क्रिम सेपरेटर अन्तर्गत सहकारीमा आवद्ध किसानलाई मल्टी मिल्क उत्पादनका लागि २० लाख, बाखा वृहत्तर पकेट प्याकेज कार्यक्रम अन्तर्गत परिश्रमिक सामाजिक महिला सहकारी संस्था लिमिटेड बेलवारी ७ लाई २५ लाख, साना किसान कृषि सहकारी संस्था लिमिटेड स्तुवामाइ ४ लाई २० लाख, बंगुर विकास कार्यक्रम अन्तर्गत श्री पारुहाङ बहुउद्देशीय कृषक समूह कानेपोखरी ६ लाई २० लाख अनुदान रकम वितरण गरिएको छ।
युवा लक्षित व्यवसायीक पशु विकास कार्यक्रम ६ जनालाई जनही २ लाखको दरले १२ लाख, हुलाकी मार्ग लक्षित वाखा पालन फलोअप कार्यक्रम अन्तर्गत जहदा, धनपालथान र रंगेलीलाई जनही २०-२० लाखका दरले ६० लाख, कृषि सहकारी संस्थामार्फत कृतिम गर्भधारण कार्यक्रम अन्तर्गत लेटाङ र सुन्दरहरैचालाई जनही १०-१० लाखगरी २० लाख, बाख्रा ब्लक विकास कार्यक्रम अन्तर्गत ११ वटा बाख्रा फर्मलाई ३५ लाख, गाई ब्लक विकास कार्यक्रम अन्तर्गत सुनवर्षी नगरपालिका वडा नं. १ र ४ का २५ जनालाई ७० लाख, बंगुर ब्लक विकास कार्यक्रम अन्तर्गत मिक्लाजुङ गाउँपालिका वडा नं. २२६ का २३ जनालाई ३० लाख, माछा ब्लक विकास कार्यक्रम अन्तर्गत बेलबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिकालाई जनही ४० लाखको दरले ८० लाख र माछा ब्लक विकास कार्यक्रमको फलोअप कार्यक्रम अन्तर्गत २६ लाखको अनुदान वितरण गरियो। न्यु सृष्टि दैनिकमा खबर छ ।
प्रकाशित मिति: २०२२-०७-२८ , समय : ०७:२५:४५ , ३ वर्ष अगाडि