वर्षाका कारण पाकिस्तानमा १०० जनाको मृत्यु

rss , १६४  पटक हेरिएको

काठमान्डौ, ९ साउन ।  वर्षाका कारण पाकिस्तानमा १०० जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् । देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आएको भारी वर्षा र बाढीले अन्य थुप्रै विस्थापित भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सो प्रान्तमा हालैको भारी वर्षाका कारण जम्मा ६ हजार ६३ घर भत्किएका छन् भने ५५० किलोमिटर सडक ट्र्याक भत्किएको छ ।

भारी बर्षाका कारण ७१२ भन्दा बढी जनावरको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रदेशमा अझै भारी वर्षा हुने पूर्वानुमान सँगै सरकारले एक महिनाका लागि आपत्कालीन धारा १४४ लागू गरेको थियो ।

सो धारा लागू भएसँगै मानिसहरूलाई नदी, बाँध र अन्य जलाधार क्षेत्रमा बनभोज लगायातका अन्य मनोरञ्जनात्मक जमघट गर्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।

साथै एनडीएमएले प्रदेशको प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराएको छ । हालैको अविरल वर्षाका कारण २ हजार ५ सयभन्दा बढी घर पूर्णरूपमा र १ हजार ४ सय १७ घरमा आंशिक क्षति पुगेको पीडीएमएको प्रतिवेदनले उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानको मौसम विभागले शुक्रबारदेखि मङ्गलबारसम्म प्रान्तका विभिन्न जिल्लामा थप भारी वर्षा हुने पूर्वानुमान गर्दै सबै सम्बन्धित निकायलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउँन सुझाव दिएको थियो। पछिल्ला केही दिनयता पाकिस्तानमा भारी वर्षाका कारण विद्युतीय करेन्ट लागेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।

वर्षाको पानी मुख्य सडकमा जम्मा भई सवारी आवागमनमा समस्या भएको छ भने जम्मा भएको पानीले धेरै सवारीसाधनहरू बिग्रिएको अवस्थामा छन् । अविरल वर्षाले थुप्रै घर र गाउँ डुबानमा परेका छन् भने विभिन्न बाली र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । सडक भत्किएसँगै दुर्गम क्षेत्रहरूसँगको सम्बन्ध र सम्पर्क समेत विच्छेद भएको छ । (रासस-एएनआई)

प्रकाशित मिति: २०२२-०७-२५ , समय : ०६:५२:१७ , २ वर्ष अगाडि