अझै रोकिएन हात्ती आतंक, स्थानीय त्रसित

Enepal Patra Pvt. Ltd. , ७८७  पटक हेरिएको

धीरेन्द्रप्रसाद साह
राजविराज, पुस ३ गते । सप्तरीको पूर्वी उत्तरी भेगका बस्तिमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन । त्यस भेगमा जंगली हात्तीसँगै जंगली बँदेलको दैनिक आतकले स्थानीवासी आक्रान्त बनेको छ ।

छ दिनअघि जगली बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको र हात्ती आक्रमणबाट एक जना घाइते भएको घटना बिर्सन नपाउँदै फेरी हात्तीले बस्तीमा उत्पात मच्याउँदा स्थानीयवासी त्रसित बनेका छन् ।

गत मंसिर २८ गते शनिबार जंगली बँदेलको आक्रमणबाट सप्तरीको कञ्चनरुप नगरपालिका ६ बस्ने मिना सदाको ३५ वर्षीय श्रीमती सितादेवी सदाको मृत्यु भएको थियो । कञ्चनरुप नगरपालिका ६ स्थित जंगलमा कास ९खर० काटने क्रममा बदेलले अचानक आक्रमण गर्दा उनको घाँटीमा गहिरो चोट लागेर गम्भिर घाइते भएका थिए । घाइते अवस्थामा स्थानीय धर्मेश्वर अस्पतालमा उपचारको क्रममा उनको सोही दिन मृत्यु भएको थियो । सोही दिन जंगली हात्तीको आक्रमणमा परी कञ्चनरुप नगरपालिका १२ श्रवणपुर बस्ने ७५ वर्षीय सनमान भुजेल घाइते थिए । आफ्नै खेतको गहुँमा पानी लगाउन जाने क्रममा अचानक जंगली हात्तीले आक्रमण गरेको थियो ।

यस घटनालाई स्थानीयले बिर्सन नपाउँदै अस्ति मंगलबार फेरी जिल्लाको रुपनी गाउँपालिका ६ बिरेन्द्र बजारमा जंगली हात्तीको एक समूहले तीनवटा घरमा तोडफोड गरेको छ । कोशीटप्पु बन्यजन्तु आरक्षणबाट आएको हात्तीले स्थानीय गिता थापा मगर, देबरुप यादव र श्याम कामैतको घरमा तोडफोड गरि एक लाख बराबरको क्षति गरेको पीडितहरुले बताएका छन ।

मध्यरातमा आएको हात्तीको समूहले टाटी भत्काएर घर, भ्m्याल, बाक्स, पालाङ, एलईडि टिभी, टेबुल, अन्नपात चामल, चाउमिन, भुजा, डाईनिङ टेबुल, लत्ताकपडा र भांडाकुडा तोडफोड गरेको पीडितहरुले बताएका छन । हात्तीले गीता थापा मगरको घरको टाटी भत्काएको थाहा पाउन साथ नाबालक छोरा च्यापेर भागेर ज्यान जोगाए छन । श्रीमान रोजगारीको लागि काठमाडौँमा रहेको र मगर नावालक छोरासँगै घरमा चिया नास्ता पसल सञ्चालन गरि गुजारा चलाउदैँ आउनुभएको छ । यसैगरी देवरुप यादवको घरमा तीन महिना अघि हात्तीले तोडफोड गरी लाखौंको क्षति गरेको थियो । टप्पुबाट आएका चारवटाको एक समुहको हात्तीले यसरी तोडफोड गरेको थियो ।

त्यस्तै गत शनिबार जिल्लाको कञ्चनरुप नगरपालिका ७ बलुवा सितापुमा पाँच वटा हाात्तीको समूहले स्थानीय दामोदर महतोको घर, गाई गोठ र पूजाघर तोडफोड गरी अन्नपात खाएर नष्ट गरेको स्थानीय विनोद महतोले जानकारी दिनुभयो । सोही ठाउँका किसान जगतराज महतोको बारीमा लगाएको तरकारी खेती समेत कुल्चेर नष्ट गरेको छ । हात्तीको सोही समूहले अग्निसाईर कृष्णासवरन गाउँपालिका २ का जय तामाङले लगाएको कोदोबाली खाएका छन् ।

जिल्लाकोे रुपनी, अग्निसाई कृष्णासवरन गाउँपालिका, सप्तकोशी, कन्चनरुप, खडक, सुरुङ्गा, हनुमाननगर कंकालीनी नगरपालिकाका बस्तिमा जंगली हात्ती पसेर जनधन तथा मानवीय क्षति गर्दै आएका छन । जंगली हात्तीसहित बँदेल, स्याल, भैसीले हरियो चरिचरण् गर्न बस्तिमा पसेर घर तोडफोड, बालीनाली नष्ट गर्नुकोसाथै मानिसलाई समेत मार्न थालेपछि स्थानीयवासी आजित भएका छन । सम्बद्ध स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई गुहार्दापनि कुनै ठोस पहल नभएको स्थानीयले गुनासो गरेका छन् ।

यता ग्रामदेवता रिसाएको कारण जंगली जनावरको आंतक बढेको भन्दै स्थानीयले सामूहिक रुपमा ग्रामदेवता अग्निसाइरलाई विधिवत पूजा समेत गरेको छ । तरपनि, जंगली जनावरको आंतक रोकिएको छैन । त्यस भेगकावासीहरुले रातभर पालैपालो जाग्राम बस्दै आएका छन् ।

गाेरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०१९-१२-१९ , समय : १४:१५:०० , ४ वर्ष अगाडि