खसी बोका सङ्कलन केन्द्र निर्माण गर्दै दीगोपन महिला सहकारी

Enepal Patra Pvt. Ltd. , ९०३  पटक हेरिएको

कानेपोखरी(मोरङ), ३ पुस । मोरङको कानेपोखरी–७ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि.ले जिउँदो खसी, बोका र बाख्रा सङ्कलन केन्द्र निर्माण गरिरहेको छ । १ नं.प्रदेश सरकारको ५० लाख र कानेपोखरी गाउँपालिकाको ५ लाख रुपियाँ सहित झण्डै ७५ लाख रुपियाँको लागतमा सङ्कलन केन्द्र निर्माण भइरहेको हो । प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको जिउँदो खसी, बोका, बाख्रा सङ्कलन केन्द्र यो नै पहिलो हो ।
सहकारी संस्थालाई सङ्कलन केन्द्र निर्माणका लागि हेफर इन्टरनेसनल र अभियान नेपालले पनि सहयोग गरेका छन् । कानेपोखरी–६ मा १० वर्षका लागि ५ कट्ठा जग्गा लिजमा लिएर एउटा प्रशासनिक भवन र एउटा सङ्कलन केन्द्र निर्माण भइरहेको संस्थाका अध्यक्ष कमला योन्जनले बताउनु भयो । भवनमा खसी बोकाको स्वास्थ्य परीक्षण केन्द्र, जोख्ने कोठा, किनबेच केन्द्र र हेरचाह गर्ने कामदारको आवासको छुट्टा छुट्टै कोठा रहेकाछन् । अध्यक्ष योन्जनका अनुसार लिज वापत सहकारीले वार्षिक २५ हजार रुपियाँ जग्गाधनीलाई बुझाउनु पर्नेछ ।
गत असारमा धनगढीको परशुराम निर्माण कम्पनीले ७० हजार रुपियाँमा सङ्कलन केन्द्र निर्माण गरिरहेको हो । निर्माण कम्पनीका सञ्चालक केशवबहादुर थापाका अनुसार भवन फागुन मसान्त सम्ममा सहकारीलाई हस्तान्तरण गर्ने सम्झौता छ । सहकारीले आफ्ना शेयर सदस्यलाई सहुलियत दरमा ऋण उपलब्ध गराई व्यवसायिक बाख्रापालन गर्न उत्प्रेरित गरिरहेको छ । संस्थाका उपाध्यक्ष विमला कोइरालाले भन्नुभयो–‘हाल संस्थाले जिउँदो बोका प्रति केजी ५ सय रुपियाँका दरले खरिद गरिरहेको छ । यस्तै ३० किलो सम्मको जिउँदो खसी प्रति केजी ४५० रुपियाँमा र ३० किलो भन्दा कम तौलका क्रमश प्रति किलो २ रुपियाँ कममा खरिद गरिरहेको छ । ३० किलो भन्दा बढी तौल भएका खसीहरूलाई ४५० मा प्रत्येक किलोमा २ रुपियाँका दरले बढी मूल्य दिएर खरिद गरिरहेको उपाध्यक्ष कोइरालाले बताउनु भयो ।
यो वर्षको दशैं र तिहारमा मात्र सहकारीले ४७० वटा खसी खरिद गरी बिक्री गरेको कोइरालाको भनाई छ । कोइरालाले भन्नुभयो –सहकारी संस्थाले दुई जना आफ्ना शेयर सदस्यलाई पशु स्वास्थ्य प्राविधिकको ३ महिने तालिम दिएर आफ्नै जनशक्तिबाट सदस्यले पालेका चौपायका उपचार प्रबन्ध मिलाइरहेको छ । यस्तै सोही जनशक्तिले पशु बीमा गर्ने काम समेत गरिरहेको कोइरालाले बताउनु भयो । संस्थाले सदस्यले पालेका पशु चौपायको अनिवार्य बीमाको ब्यवस्था मिलाएको छ ।
सहकारी संस्थामा कानेपोखरी गाउँपालिकाका ८०४ जना महिला सदस्य रहेकाछन् ।

प्रकाशित मिति: २०१९-१२-१९ , समय : ०८:३३:४३ , ४ वर्ष अगाडि