प्लटिङ गर्दा नाला बाहेक २० फिट सडकलाई छोड्नु पर्ने

दुई कट्ठा सार्वजनिक उपयोगका लागि छोड्नु पर्ने

enepalpatra , ४१७  पटक हेरिएको

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उप प्रमुख मीना खतिवडा

उर्लाबारी,८ असार । आगामी आर्थिक वर्ष २०७९/०८० देखि उर्लाबारी नगर क्षेत्र भित्र प्लटिङ गर्दा नाला बाहेक २० फिट बाटो छुट्याएर मात्र प्लटिङ गर्न पाइने भएको छ । बुधबार उर्लाबारी नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्लटिङ गर्दा अनिवार्य दुई कट्ठा जग्गा सार्वजनिक उपयोगका लागि छोड्नु पर्ने ब्यवस्था गरिएको छ ।
नगर प्रमुख गङ्गाप्रसाद खरेलको सभापतित्वमा भएको आठौं नगर सभामा नगर उप प्रमुख मीना खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । विभिन्न २७ शीर्षकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम २७६ बुँदामा समेटिएको छ । नगरले आगामी आर्थिक वर्ष देखि नगरपालिका भित्रका सबै खानेपानी उपभोक्ता समितिलाई खानेपानी निर्देशन समिति मार्फत सञ्चालन गर्ने भएको छ । यस्तै अति विपन्नका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गर्नेछ, भने मुख्य बजारका विभिन्न चौकमा पिउने पानीका लागि सार्वजनिक धारा जडानको प्रबन्ध मिलाउने भएको छ ।
नीति तथा कार्यक्रममा सामूदायिक विद्यालयका महिला शिक्षिका र विद्यार्थीलाई लुगा फेर्ने अलग्गै कोठाको ब्यवस्था गर्ने र निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने समावेस गरिएको छ । नगरको वडा नं. ५ मा सामूदायिक विद्यालय स्थापना गर्ने योजनालाई पनि कार्यक्रममा समेटिएको छ । विभिन्न सीप मुलक तालिममा सहभागि प्रशिक्षार्थीले बुनेका सामग्रीहरू बिक्रीका लागि अलग्गै कोशेली घर निर्माण गरिने भएको छ ।
यस्तै उर्लाबारी नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउनका लागि नयाँ कार्य बिधि ल्याइने भएको छ । वडामा ३ सम्मका र नगरमा ५ लाख सम्म योजना मात्रै तय गरिने भएको छ । बजेट छर्ने कार्यक्रमलाई निरुत्साहित गरी तालिम प्राप्त् जनशक्ति मात्र नगरमा परिचालन गर्न छुट्टै नीति तयार गरिने भएको छ । बिकास योजना सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र योजना अघि बढाइने बिषयलाई नीति तथा कार्यक्रममा ल्याइएको छ ।
१० लाख रुपियाँ भन्दा माथिका ठेक्कालाई इविड मार्फत सञ्चालन गर्ने भएको छ । नगरले आगामी आर्थिक वर्ष देखि अति विपन्न समूदायलाई निशुल्क विद्य्ुुत मिटर वितरण गर्ने भएको छ । त्यसैगरी प्रमुख बजारका विद्युत र केवल नेटवर्कका प्रशारण लाइनलाई भूमिगत गर्न थालिने छ । नगरले आगामी आर्थिक वर्ष देखि आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना गर्ने भएको छ । यसैगरी ब्यवसाय कर चुक्ता गरेका ब्यापारीलाई नगरले छुट्टै पहिचान चिह्न उपलब्ध गराउने भएको छ । नीति तथा कार्यक्रममा हात्ती प्रभावित क्षेत्रहरूमा विद्युतीय साइरन जडान गरिने कार्यक्रम पनि उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: २०२२-०६-२२ , समय : १९:२६:०८ , २ वर्ष अगाडि