रमेश खतिवडा , ५६२ पटक हेरिएको
अभ्यासरत सेना
दोलखा ३० जेष्ठ । नेपाली सेनाको तारा दल गण चरिकोटसहित जिल्लाका ६ ओटा निकायले तामाकोशी नदीमा आइतबार उद्धार अभ्यास गरेका छन्।
मनसुन सुरु हुन लागेकाले वर्षायामको समयमा हुन सक्ने बाढी पहिरोसहितका विपद् पर्दा त्यस्ता बेलामा गरिने खोज तथा उद्धारको अभ्यास गरिएको हो। तामाकोशी नदीमा विभिन्न घटनाको परिकल्पना गरी नेपाली सेनाको तारादल गण चरिकोटको नेतृत्वमा उद्धार कार्यका पूर्व अभ्यासहरु प्रदर्शन गरिएको थियो।
नेपाली सेनाको तारादल गण चरिकोटका गणपति अनिल केसीका अनुसार कार्यक्रममा पहिरो तथा खोचमा परेका व्यक्तीहरुको उद्धार, नदीमा डुबेका, बगेका व्यक्तीहरुको खोज तथा उद्धार, सडक बन्द हुँदा बाढी पहिरोका घाइतेलाई डोरीको सहायतले नदी तार्ने जस्ता घटनाहरुको उद्धार तरिका प्रदर्शन गरिएको थियो। नदीमा घरयासी सामग्री प्रयोग गरेर तैरिने र उद्धार गरिने कला, उद्धारको डुंगा पल्टीदा पुनः पुरानै अवस्थामा फर्काउने तरिका समेत प्रदर्शन गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय, तारा दल गण, सशस्त्र प्रहरी बलको १८ नं गुल्म, जिल्ला प्रहरी कार्यालय, रेडक्रस सोसाईटी, स्काउट र भीमेश्वर नगरपालिकाको आपत्तकालिन कार्यसञ्चालन केन्द्रको आयोजनामा सम्पन्न पूर्व अभ्यास प्रर्दशनको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित जिल्लाका सुरक्षा अधिकारीहरुले अवलोकन गरेका थिए।
प्रकाशित मिति: २०२२-०६-१३ , समय : १३:०५:१५ , ४ वर्ष अगाडि