Enepal Patra Pvt. Ltd. , ६०६ पटक हेरिएको
लेटाङ , ३ फागुन । लेटाङ नगपालिकाले मङ्गलबार विकास निर्माण, शान्ति सुरक्षा तथा बिबिध विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ ।
मोरङ जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सङ्घीयताको सुन्दर पक्ष भनेको जनतासँग जनप्रतिनिधिको प्रत्यक्ष सम्पर्क हुनु बताउनुभयो ।उहाँले कतिपय सङ्घीय कानुन बन्न नसक्दा प्रदेशको कानुनको बन्न नसकेको र प्रदेशको कानुन नबन्दा स्थानीय तहले कानुन निर्माण गर्न नसकेको बताउनुभयो ।अझै पनि निजामती कानुन नबन्दा कर्मचारी ब्यवस्थापनमा चुनौति रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले २०६३ मा जन्मको आधारमा नागरिकता दिएका ब्यक्तिका सन्तानहरूलाई नागरिकता दिन कानुनी अप्ठ्यारो भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ”बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई अनुशासित र मर्यादित बनाउन मतदानस्थल र मतगणनास्थलमा सिसिटीभी जडान गरिने छ ।निर्वाचन केन्द्रीत शान्ति सुरक्षाका लागि लेटाङमा शसस्त्र प्रहरीको अस्थायी सुरक्षा क्याम्प कहाँ राख्न उपयुक्त हुन्छ,नगरवासीको सुझावमा नगरपालिकाले निर्णय गर्नेछ,सोही अनुसार सुरक्षा शिविर राखिनेछ ।”
कार्यक्रममा सहायक प्रजिअ महेशराज तिम्सिना ,भैरवगण थलाहाका प्रमुख सेनानी अमृत थापामगर ,पुर्वी प्रितना शिक्षालय लेटाङका सेनानी धनराज मगर ,मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसी,राष्ट्रिय अनुसन्धान मोरङका उप निर्देशक बासुदेव सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाका सबै सार्वजनिक सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको कार्यक्रममा लेटाङका प्रमुख राजनीतिक दलका नेताहरूले लेटाङको सुरक्षाको विषयमा चासो राखेका थिए । लेटाङमा संघीय सरकार र प्रदेश सरकारले गरिरहेका विकास निर्माणका कामहरूका विषयमा स्थानीयले राखेका जिज्ञासाको जवाफ कोशी बक्राहा तटबन्ध आयोजना,विद्युत प्राधिकरण ,पशु सेवा कार्यालय,कृषि ज्ञान केन्द्र ,सडक डिभिजन कार्यालय,डिभिजन वन कार्यालय मोरङका प्रमुखले जवाफ दिनु भएको थियोे ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहालले नगरपालिकाको प्रोफाइल प्रस्तुत गर्नुभएको थियोे ।
प्रकाशित मिति: २०२२-०२-१५ , समय : १४:४४:२१ , ४ वर्ष अगाडि