सुनसान बन्दै हुलाक

Enepal Patra Pvt. Ltd. , ७९०  पटक हेरिएको

तनहुँ ५ माघ ।  जिल्ला हुलाक कार्यालयका कर्मचारीको घाम तापेर नै दिनचर्या बित्ने गरेको छ । कामको चाप कम रहेको र कर्मचारी सङ्ख्या धेरै रहेका कारण हुलाकका कर्मचारी यतिबेला कामविहीन अवस्थामा रहेका छन् ।

हुलाक कार्यालयका कर्मचारीलाई हुलाक टिकट बिक्री गर्नेबाहेक अन्य काम नभएपछि अधिकांश समय घाम तापेर नै बित्ने गरेको स्वयं कर्मचारी बताउँछन् । जिल्ला हुलाक र इलाका हुलाक कार्यालयमा गरी ६० जना कर्मचारी छन् । अतिरिक्त हुलाक कार्यालयमा १२१ कर्मचारी सहित १८१ कार्यरत छन् । कर्मचारीको अधिकांश समय यत्तिकै खेर गइरहेको जिल्ला हुलाक कार्यालय तनहुँका निमित्त प्रमुख कुमारसिंह लामाले बताउनुभयो । टेलिफोन, इमेल, इन्टरनेटको पहुँच कम भएका बेला कामको धेरै चाप हुने समयमा कायम गरिएका दरबन्दीअनुसारका कर्मचारी रहेकाले कर्मचारीको सङ्ख्या धेरै देखिएको उहाँले जानकारी दिनुभयो । सञ्चारको पहुँच कम भएको समयमा गाउँगाउँमा चिठी बोकेर जानुपर्ने हुलाकी हाल हातहातमा भएका मोबाइलले चिठीपत्र अत्यन्त न्यून हुने भएकाले कर्मचारी कामविहीन बन्नुपरेको हो । सरकारी प्रयोजनका लागि न्यून सङ्ख्यामा रजिष्ट्ररी चिठी आउने गरे पनि अन्य चिठी पत्र कुरियरमार्फत पठाउनेको सङ्ख्या बढ्दै गएपछि हुलाक कार्यालयमा मानिसको चहलपहलमा न्यून हुँदै गएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक खर्च भने रु एक करोड २५ लाख ८३ हजार ५०० एक र पूँजीगत खर्चतर्फ ५९ लाख ८७ हजार नौ रहेको जिल्ला हुलाक कार्यालयका लेखापाल पवित्रमणि आचार्य जानकारी दिनुभयो ।

मन्दिर परिसरमा चौध बोरा फोहर

गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर परिसरबाट चौध बोरा फोहर सङ्कलन गरिएको छ । व्यास युवा क्लबको सहयोगमा जिल्लाको व्यास नगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा निर्माण गरिएको तनहुँ कालिका मन्दिर परिसरबाट शनिबार उक्त परिमाणमा फोहर सङ्कलन गरिएको हो । मन्दिर परिसरमा आठ वटा फोहर राख्ने भाँडोमा राखिए पनि उक्त डस्बिनमा नअटाएपछि अन्य छ वटा बोरामा फोहर सङ्कलन गरिएको क्लबका सचिव मनोज राउतले जानकारी दिनुभयो । काठमाडौँको पशुपतिनाथ मन्दिरको जस्तै प्यागोडाशैली र आर्कषक किसिमले तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ । बिहानका समयमा मन्दिरमा पूजाअर्चना गर्न आउने भक्तजन र प्राप्तकालीन सन्ध्यामा आउने मानिसलाई प्रत्यक्ष असर पर्ने गरेको छ । सदरमुकाम दमौलीको काखैमा रहेको उक्त मन्दिरमा दैनिक १०० को हाराहारीमा भक्तजन र आन्तरिक पर्यटक जाने गरेको बताइएको छ । आउँदा दिनमा क्लबले पन्ध्र÷पन्ध्र दिनमा उक्त मन्दिर परिसर क्षेत्रमा सरसफाइ गर्ने योजना बनाएको छ । क्लबमा आबद्ध व्यक्तिले लागुऔषधकर्ताको निगरानी बढाउँदै व्यास नगरपालिका र नेपाल प्रहरीसँग समन्वय गरी न्यूनीकरणतर्फ लागिने क्लबका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।

महिला उद्यमीका अध्यक्ष सम्मानित

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी विकास समिति तनहुँका नवनिर्वाचित अध्यक्ष कल्पना गौलीलाई आइतबार स्थानीय दुई संस्थाले सम्मान गरेको छ । अध्यक्ष पदमा हालै निर्वाचित अध्यक्ष गौलीलाई व्यासनगरपालिका–२ स्थित नवजागरण टोल विकास सस्था र नवजागरण आमा समूहले सम्मान गरेका हुन् ।

महासङ्घको दोस्रो कार्यकाल निर्वाचित भई टोलको गौरव बढाएकाले सम्मान गरिएको ती संस्थाले जनाएका छन् । टोल विकास संस्थाकी अध्यक्ष इन्द्रा शाही र आमा समूहकी अध्यक्ष गोमा दाहाललगायतका पदाधिकारीले खादा, अबिर र माला लगाएर सम्मान गरेका हुन् । सो अवसरमा अध्यक्ष कल्पनाले उद्यमशील बन्न चाहने महिलाका लागि सहुलियत ब्याजदरको ऋण, आवश्यक तालीम प्रदान गर्न भूमिका निर्वाह गर्ने बताउनुभयो । स्वास्थ्य जीवनका लागि प्राङ्गारिक खानेकुराको आवश्यकपर्ने हुनाले बजार क्षेत्रमा कौसीखेती विस्तारका लागि आवश्यक सीप प्रदान गरी जागरण कार्यक्रम ल्याइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२१-०१-१८ , समय : १५:३४:४९ , ४ वर्ष अगाडि