माया घरका बेसहाराहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क उपचार गर्ने

Enepal Patra Pvt. Ltd. , ६१८  पटक हेरिएको

 

बिराटनगर, १ माघ । सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका दासीले हस्ताक्षर गरेका छन् । एक बर्षसम्म नोबेलले पुनस्थापना केन्द्रका असहायहरुलाई निःशुल्क उपचार गर्ने र दुईपक्षीय सहमतिमा पुनः सम्झौता नविकरण गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ ।

असहायहरुलाई सहयोग पुर्याउँनका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा.शर्माले जानकारी दिनुभयाे । ‘हामीले पहिलेदेखिनै गरिब, बिपन्न तथा असहायहरुलाई निःशुल्क उपचार गर्दै आएका छौं ।’ डा.शर्माले भन्नुभयाे –‘माया घरमा रहेका असहायहरुलाई पनि सहयोग गर्न निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हौं ।’

२०७४ सालमा स्थापना भएको माया घरमा हाल ९७ जना महिला तथा वालवालिका बस्दै आएका छन् । जसमध्ये करिब ८० प्रतिशत मानसिक रोगी छन् । उनीहरुलाई उपचार गरेर पुनस्थापना गरिदै आएको छ । माया घरबाट हालसम्म करिब १२ सय जनालाई पुनस्थापना गरिसकिएको संस्थाका अध्यक्ष दासीले जानकारी दिनुभयाे ।

 

प्रकाशित मिति: २०२१-०१-१५ , समय : ०५:५९:०० , ३ वर्ष अगाडि