लेटाङ नगरले ल्यायो १२ वर्ष देखि श्रीमान वेपत्ता भएका महिलाका लागि विशेष कार्यक्रम

Enepal Patra Pvt. Ltd. , १०३३  पटक हेरिएको

हरिप्रसाद कोइराला
लेटाङ(मोरङ), २७ असार । उत्तरी मोरङको लेटाङ नगरपालिकाले १२ वर्ष अघि देखि श्रीमान बेपत्ता भएका महिलाका लागि विशेष कार्यक्रम ल्याउने भएको छ । मासिक भत्ता वा कुनै सीप मूलक कार्यक्रम सञ्चालन गर्न नगरले आगामी कार्यक्रममा ४ लाख रुपियाँ विनियोजन गरेको छ ।
शुक्रबार ६५ करोड १८ लाख ४ हजार २७८ रुपियाँको बजेट सार्वजनिक गर्दै नगरकी उप प्रमुख कृष्णकुमारी पोख्रेलले सङ्घीय सरकारले तोकेको मापदण्ड अनुसार नसमेटिएका एकल महिलाहरूलाई समेट्न यो कार्यक्रम ल्याइएको बताउनु भयो । लेटाङस्थित जनसेवा सामूदायिक वन उपभोक्ता समूहको सभाहलमा सार्वजनिक भएको बजेटमा कोरोना नियन्त्रण,कृषि ,पर्यटन र पशुपालनलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै नगरले गरीवसँग मेयर कार्यक्रम सञ्चालन गर्न १५ लाख रुपियाँ छुट्याएको छ । प्रदेश र संघीय सरकारले सडक मर्मत सुधारमा बजेट नपठाएपछि नगरले कानेपोखरी–लेटाङ सडक कालोपत्रे गर्न २ करोड रुपियाँ विनियोजन गरेको छ । लेटाङसँग पूर्व पश्चिम राजमार्ग जोड्ने एक मात्र कालोपत्रे सडक हाल जीर्ण भएको छ । जीर्ण सडकलाई पूननिर्माणका लागि बजेट छुट्याइएको नगर प्रमुख शङ्कर राईले बताउनु भयो ।
तरकारी उत्पादक किसानलाई मध्यनजर गर्दै नगरले लेटाङ बजारमा कृषि बजार स्थापना गर्न ६० लाख रुपियाँ विनियोजन गरेको छ । कृषि बजारका लागि सङ्घीय सरकारले १ करोड १२ लाख रुपियाँ समपुरक अनुदान दिएको थियो । अब नगरले १ करोड ७२ लाख रुपियाँमा भब्य कृषि बजार निर्माण गर्ने भएको छ । यस्तै कोभिड १९ नियन्त्रण ,रोकथाम र राहत वितरणका लागि १ करोड रुपियाँ विनियोजन गरेको छ ।
नगरले पूर्वाधार विकासका लागि २६ करोड ३० लाख ६ हजार २७८ रुपियाँ,सामाजिक विकासमा २३ करोड ६ लाख ९३ हजार,आर्थिक विकासका लागि ३ करोड ३९ लाख ९० हजार,सुशासन तथा संस्थागत विकासमा ३ करोड ६९ लाख ३५ हजार रुपियाँ र कार्यालय सञ्चालन र प्रशासनिक खर्चमा ८ करोड ७१ लाख ८० हजार रुपियाँ विनियोजन गरेको छ ।
नगर सभालाई सम्बोधन गर्दै संविधान सभा सदस्य डिगबहादुर लिम्बूले ठूलो आयोजनाका लागि थोरै पैसा छुट्याएर नहुने बताउनु भयो । फरक विचार लिएका ब्यक्ति भए पनि नगरको विकासमा साझा धारणा बन्नु सुन्दर पक्ष भएको लिम्बूले बताउनु भयो । नगर प्रमुख शङ्कर राईको सभापतित्वमा भएको सभामा तत्कालिन लेटाङ गाउँ पञ्चायतका प्रधान पञ्च नीरविक्रम किराँती,प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाल लगायतले बोल्नु भएको थियो ।
सभालाई नेकपाका लेटाङ नगर अध्यक्ष कृष्ण लम्साल, नेपाली काङ्ग्रेसका नगर सचिव कुवेर पौडेल। जनता समाजवादी पार्टीका भक्तराज राई,राप्रपा नेपालका धर्मानन्द घिमिरे,सङ्घीय लिम्बूवान पार्टीका जीवन खेवा लगायतले सम्बोधन गर्दै शुभकामना प्रकट गर्नुभएको थियो । यस्तै खम्बुवान राष्ट्रिय मोर्चाका ताराजीत राई ,सामूदायिक वन महासंघ प्रदे नं. १ का सचिव अग्नि पौडेल,शिक्षक महासंघ लेटाङका अध्यक्ष हरिप्रसाद धिमाल र आदिवासी जनजाति महासंघ लेटाङका अध्यक्ष बुद्धि चाम्लिङले नगर सभालाई सम्बोधन गर्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
                                                                           दुई कर्मचारी पुरस्कृत
नगरले आर्थिक वर्ष ०७६÷०७७ मा उत्कृष्ठ कार्य सम्पादन गर्ने दुई जना कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वडा नं. २ का वडा सचिव सूर्यबहादुर महतरा र नगरपालिकाकी कार्यालय सहयोगी नवीना निरौला हुनुहुन्छ । उहाँहरूलाई नगर प्रमुख, उप प्रमुख र प्रमुख अतिथि लगायतका अतिथिले पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०७-११ , समय : २०:०९:०८ , ४ वर्ष अगाडि