ईनेपालपत्र संबाददाता , ५ पटक हेरिएको
विराटनगर, २ मंसिर। ताप्लेजुङस्थित मुक्कुमलुङ (पाथीभरा) क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान संरक्षणको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय मोरङमा ध्यानाकर्षण पत्र बुझाइने भएको छ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिको आयोजनामा मंगलबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय मोरङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको स्मरणपत्र बुझाउन लागिएको हो। कार्यक्रमबारे मोरङ संयोजक रामभक्त कुरुम्बाङले जानकारी दिनुभयो।
संयोजक कुरुम्बाङका अनुसार मुक्कुमलुङ संरक्षणको मागसहित देशभरका विभिन्न जिल्लामा एकैसाथ ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। उनीहरूले मुक्कुमलुङमा निर्माण गर्न लागिएको केबलकार आयोजना तत्काल खारेज गर्नुपर्ने, आदिवासी याक्थुङ (लिम्बू) समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्नुपर्ने र स्थानीय समुदायको सहमतिबिना विकासका आयोजना अघि बढाउन नहुने माग राखेका छन्।
स्मरणपत्रमा केबलकार निर्माणको विरोधका क्रममा भएका भनिएका बल प्रयोग, गोली प्रहार, कुटपिट तथा मानवअधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ। त्यस्तै, झुटा मुद्दा खारेज, घाइतेको उपचार खर्च तथा जीविकोपार्जनको ग्यारेन्टी, मुक्कुमलुङसम्बन्धी सरकारी कार्यदलको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न पनि माग गरिएको छ। आन्दोलनरत पक्षले मुक्कुमलुङलाई व्यापारिक परियोजनाभन्दा आदिवासी समुदायको मुन्धुमी आस्था, पुर्ख्यौली विरासत र सांस्कृतिक पहिचानसँग जोडिएको पवित्र स्थलका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: २०२६-११-१८ , समय : ११:०८:५८ , ३४ मिनेटutes अगाडि