खगोल ओलम्पियाडमा नेपाललाई ऐतिहासिक सफलता: रुसमा रिवाश राईले जिते पहिलो रजत पदक

ईनेपालपत्र संबाददाता , २४  पटक हेरिएको


काठमाडौँ २९ कार्तिक। रुसको सिरियसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा नेपाली टोलीका रिवाश राईले रजत पदक जितेका छन्। अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडको इतिहासमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो। राईले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ‘डायमन्ड अफ द टिम’ (Diamond of the Team) को उपाधि समेत प्राप्त गरेका छन्।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार सोही प्रतियोगितामा नेपालका तर्फबाट ओमराजा पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले एक–एकवटा कांस्य पदक जितेका छन्। यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न जुनियर खगोल ओलम्पियाडमा पनि नेपालका शाहबाज आलमले ऐतिहासिक स्वर्ण पदक जितेका थिए। नेपाली युवा वैज्ञानिकहरूको यो निरन्तर सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएको छ।

प्रकाशित मिति: २०२६-११-१५ , समय : १०:३५:०५ , २३ मिनेटutes अगाडि