ईनेपालपत्र संबाददाता , २१ पटक हेरिएको
पोखरा, २८ कात्तिक २०८३ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा आयोजना गर्ने भएको छ। गण्डकी प्रदेश कार्यसमितिका उपसभापति एवं अधिवेशन मूल समारोह समिति संयोजक मेखलाल श्रेष्ठले पत्रकार सम्मेलनमार्फत अधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गर्नुभएको हो।
गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै समानान्तर महाधिवेशन प्रक्रिया अघि बढाएको देउवा पक्षले मंसिर ५ गते पोखरा सभागृहमा अधिवेशन उद्घाटन गर्ने तय गरेको छ। उद्घाटन समारोहलाई कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुनेछ भने मंसिर ६ गते बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा बन्दसत्र तथा निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ।
यस अधिवेशनमा गण्डकीका ११ वटै जिल्लाबाट प्रदेश र केन्द्रीय प्रतिनिधि, क्षेत्रीय सभापति तथा विभिन्न भ्रातृ संस्थाका प्रतिनिधि गरी कुल १ हजार ६ सय १ जना सहभागी हुनेछन्। उद्घाटनअघि पोखराको चिप्लेढुंगाबाट र्याली निकालिने तथा सहभागीहरूका लागि खाना र खाजाको व्यवस्था गरिएको छ।
अधिवेशनले नयाँ प्रदेश कार्यसमिति चयन गर्नेछ। नेता गुरु बरालका अनुसार ११ मध्ये कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र मनाङ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने बाँकी ६ जिल्लामा अधिवेशनको तयारी भइरहेको छ।
भव्य रूपमा अधिवेशन सम्पन्न गर्न प्रचारप्रसार, अर्थ, भोजन, अतिथि स्वागत तथा मञ्च व्यवस्थापनलगायत विभिन्न उपसमितिहरू गठन गरिएका छन्। मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशन अगावै सबै प्रदेश अधिवेशन सक्ने देउवा समूहको लक्ष्य छ।
प्रकाशित मिति: २०२६-११-१४ , समय : ११:१७:०८ , ३१ मिनेटutes अगाडि