ईनेपालपत्र संबाददाता , ३० पटक हेरिएको
काठमाडौँ, २८ कात्तिक। लोक आस्था, निष्ठा र पारिवारिक सुखशान्तिको महापर्व छठको रौनकले यतिबेला तराई–मधेसदेखि काठमाडौँ उपत्यका र पहाडी जिल्लाहरूसम्म छपक्कै छोपेको छ। चार दिनसम्म मनाइने यस पर्वको दोस्रो दिन आज (शनिबार) व्रतालुहरूले ‘खरना’ विधि गर्दैछन्। पञ्चमी तिथिका दिन आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर साँझपख सख्खरमा पकाइएको अरवा चामलको खिर कुलदेवता र छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गरिन्छ। यो विधि सम्पन्न भएसँगै व्रतालुहरूको करिब ३६ घण्टे कठोर निर्जला व्रत सुरु हुन्छ।
पर्वको मुख्य दिन भोलि आइतबार (कात्तिक २९ गते) साँझ अस्ताउँदो सूर्यलाई र पर्सि सोमबार (कात्तिक ३० गते) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परालाई मध्यनजर गर्दै नेपाल सरकारले भोलि आइतबारसँगै पर्सि सोमबार पनि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै छठ पर्वको अवसरमा थप एक दिन बिदा दिइएको जानकारी गराएको हो।
मिथिलाको केन्द्र जनकपुरधामका ऐतिहासिक गङ्गासागर, धनुषसागर लगायतका पोखरी तथा वीरगन्ज, विराटनगर र रौतहटका नदी किनारहरू दुलहीझैँ सिँगारिएका छन्। विशेषगरी रौतहटको चन्द्रपुर–६ स्थित सर्वलिङ्गेलिश्वर मन्दिर परिसरमा व्रतालुको सहजताका लागि नयाँ पोखरीसहितको भव्य छठघाट निर्माण गरिएको छ। तराई–मधेसका जिल्लाहरूमा यतिबेला छठका पारम्परिक लोकगीत गुञ्जिरहेका छन् भने गाउँ–सहर भक्तिमय बनेका छन्।
यस्तै, काठमाडौँ उपत्यका र पहाडी सहरहरूमा पनि छठ मनाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। यस वर्ष काठमाडौँको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु र वंशीघाटसहित १७ स्थानमा भव्य छठ घाट निर्माण गरिएको छ, जहाँ गौरीघाटमा मात्र करिब ६०० पूजास्थल तयार पारिएका छन्। पर्यटकीय नगरी पोखराका नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, फेवाताल किनारको केदारेश्वर मन्दिर र भद्रकालीको माछापोखरी लगायत चार स्थानमा पनि विशेष पूजाको तयारी पूरा भएको छ।
पर्वको रौनकसँगै देशभरका हाटबजारमा बाँसका ढाकी, डगरी, माटोका कोसिया, दियो, उखु, केरा, नरिवल तथा पूजा सामग्री किन्नेहरूको बाक्लो भिड लागेको छ। छठ घाटहरूमा सम्भावित दुर्घटना रोक्न र भिडभाड व्यवस्थित बनाउन स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा सतर्कता कडा पारेका छन्।
प्रकाशित मिति: २०२६-११-१४ , समय : १०:५५:१९ , २५ मिनेटutes अगाडि