केराबारीको जङ्गलमा महिलाको शव फेला, श्रीमान्‌माथि प्रहरीको अनुसन्धान सुरु

ईनेपालपत्र संबाददाता , २५  पटक हेरिएको


मोरङ (केराबारी), २८ कात्तिक । उत्तरी मोरङको केराबारी गाउँपालिका–२ स्थित फाइवाको जङ्गलमा एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ । बिहीबार साँझ घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको जङ्गलमा ३१ वर्षीया पार्वती लिम्बू मृत अवस्थामा भेटिएकी हुन् ।
स्थानीय बासिन्दाले जङ्गलमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति मुचुल्का उठाउँदा मृतकको कम्मरभन्दा तल्लो भागमा कपडा नरहेको र फुकालिएको कपडा नजिकै भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, महिलाको शरीरमा कुनै बाहिरी चोटपटक भने देखिएको छैन ।
घटनापछि प्रहरीले मृतकका ३५ वर्षीय श्रीमान् पूर्णबहादुर लिम्बूलाई निगरानीमा राखी अनुसन्धान अघि बढाएको छ । प्रहरी टोली घर पुग्दा पूर्णबहादुर रगत बान्ता गरिरहेको गम्भीर अवस्थामा फेला परेका थिए । उनलाई तत्काल नियन्त्रणमा लिई आफन्तको जिम्मा लगाएर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रारम्भिक सोधपुछका क्रममा दम्पतीबिच विगतमा पटकपटक घरायसी विवाद तथा झैझगडा हुने गरेको र दुवै जनाले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् । घटनास्थल पुगेका फरेन्सिक चिकित्सकले अत्यधिक मदिरा सेवनपछि बेहोस भएको अवस्थामा कपडा खोलिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । तर, मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने प्रहरीको भनाइ छ ।
धनकुटाको राजारानी क्षेत्रसँग सीमा जोडिएको उक्त घटनास्थलबाट शव उठाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । डीएसपी श्रेष्ठका अनुसार प्रारम्भिक रूपमा घटना शङ्कास्पद नदेखिए पनि प्रहरीले सबै कोणबाट सूक्ष्म अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: २०२६-११-१४ , समय : १०:३९:५४ , १८ मिनेटutes अगाडि