विराटनगरमा लामो समयदेखिको जग्गा कित्ताकाट अवरोध हट्यो, एक महिनाभित्र ‘भू–सेवा’ सञ्चालनको तयारी

ईनेपालपत्र संबाददाता , २१  पटक हेरिएको

विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिका क्षेत्रभित्र लामो समयदेखि रोकिँदै आएको जग्गा कित्ताकाटको कानुनी तथा प्रशासनिक बाटो औपचारिक रूपमा खुलेको छ । महानगरपालिकाले आफ्ना १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणको काम सम्पन्न गरी अन्तिम प्रतिवेदन नापी कार्यालयमा पठाएसँगै कित्ताकाट सुचारु हुने निश्चित भएको हो ।
नगर कार्यपालिकाको गत असोज २३ गतेको निर्णय तथा भू–उपयोग परिषद्ले स्वीकृत गरेको मापदण्डका आधारमा यो वर्गीकरण प्रतिवेदन तयार पारिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माका अनुसार कात्तिक २७ गते शुक्रबार नापी कार्यालय विराटनगरलाई आधिकारिक पत्रसहित प्रतिवेदन हस्तान्तरण गरिएको छ । प्रतिवेदनसँगै १९ वटै वडाको डिजिटल तथ्याङ्क फाइल र डाटा भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा बुझाइएको छ ।
भू–उपयोग वर्गीकरण नटुङ्गिँदा विगत लामो समयदेखि जग्गाको किनबेच, अंशबन्डा र जग्गा छुट्याउने जस्ता घरजग्गासम्बन्धी महत्वपूर्ण कामहरू ठप्पप्रायः थिए । अब आधिकारिक विवरण सम्बन्धित निकायमा पुगेसँगै समस्यामा परेका जग्गाधनी र सेवाग्राहीलाई ठूलो राहत मिल्ने तथा सुस्ताएको घरजग्गा कारोबारले पुनः गति लिने अपेक्षा गरिएको छ ।
यसैबीच, कित्ताकाट खुलाउने प्रक्रियासँगै महानगरपालिकाले भूमि प्रशासनसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउने योजना पनि अघि सारेको छ । महानगर प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्रै ‘भू–सेवा’ सञ्चालनमा ल्याउने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार भू–सेवा सुरु भएपछि सेवाग्राहीले भोग्दै आएको अनावश्यक झन्झट र समयको बर्बादी अन्त्य भई जग्गासम्बन्धी कामहरू अझ छिटोछरितो, व्यवस्थित र पारदर्शी बन्नेछन् ।

प्रकाशित मिति: २०२६-११-१४ , समय : १०:३५:४२ , २३ मिनेटutes अगाडि