Enepal Patra Pvt. Ltd. , ५ पटक हेरिएको
जनकपुरधाम, २६ असोज । धनुषा प्रहरीले सामाजिक सञ्जालमा डरत्राससहितका अपराधिक चरित्र देखाउने जनकपुरधामका दुई युवकलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै डरत्रास फैलाउने प्रकृतिको आपत्तिजनक तस्बिर र भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१३ धाताटोल निवासी अन्दाजी १८ वर्षीय काले भन्ने सुमन पटेल र जनकपुरधाम उपमहानगरपालिका–१९ निवासी अन्दाजी २१ वर्षीय काले भन्ने पशुपति पासवानलाई पक्राउ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाएर त्रास फैलाउने प्रकृतिको तस्बिर अपलोड गरेको पाइएको थियो । सोही आधारमा प्रहरीले उनलाई आइतबार साँझ करिब साढे ५ बजे घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको छ । घटनामा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै पासवानमाथि सामाजिक सञ्जाल टिकटकमार्फत डरत्रास, धाकधम्की तथा सामाजिक हिंसा फैलाउने प्रकृतिको भिडियो सार्वजनिक गरेको आरोपमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पासवानले टिकटकमा समाजमा डरत्रास र धाकधम्की सिर्जना गर्नुका साथै हिंसा फैलाउन सक्ने प्रकृतिको भिडियो अपलोड गरेको पाइएको थियो । सोही आधारमा प्रहरीले उनलाई सोमबार बिहान करिब ८ः३० बजे आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाबारे जानकारी दिँदै पक्राउ परेका युवकउपर अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
सामाजिक सञ्जालको प्रयोग गरी समाजमा डरत्रास, धाकधम्की तथा हिंसा फैलाउने गतिविधि गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रकाशित मिति: २०२६-१०-१२ , समय : १७:५४:२६ , २ घन्टा अगाडि