प्रशान्त निराैला , ४४ पटक हेरिएको
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएसँगै सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोप्रति स्पष्टोक्ति दिएका छन्। थापाले आफ्नो नामसँग जोडेर सार्वजनिक गरिएका कुनै पनि उम्मेदवारको सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै थापाले महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्। उनले लोकतान्त्रिक अभ्यासका रूपमा रहेको निर्वाचन प्रक्रियामा सबै प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गरेका छन्।
थापाले यसपटक पार्टीभित्र कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पार्दै आफ्नो नाम जोडेर प्रचार गरिएका सूचीका आधारमा भ्रममा नपर्न आग्रह गरेका छन्। महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि अफवाह वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न उनले अपिल गरेका छन्। प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै थापाले आफ्नो सन्देशको अन्त्य ‘जय नेपाल’ भन्दै गरेका छन्।
प्रकाशित मिति: २०२६-१०-०९ , समय : १०:१७:५८ , २ घन्टा अगाडि