Enepal Patra Pvt. Ltd. , ७ पटक हेरिएको
काठमाडौं, १० असोज । देशका विभिन्न भूभागमा आज पनि वर्षा जारी रहेको छ। विशेष गरी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर-पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले देशका पश्चिमी भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित वाग्मती, मधेस र पूर्वी भूभागमा हाल पानी पर्न रोकिए पनि पुनः वर्षाको सम्भावना कायमै छ। मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा भारी झरी नपरे पनि आज साँझ तथा रातिको समयमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। आइतबार बिहानसम्म बेलाबखत पानी परे पनि दिउँसोदेखि मौसममा सुधार आउने र सोमबारदेखि धेरैजसो स्थानमा मौसम खुलेर घाम लाग्ने महाशाखाको पूर्वानुमान छ।
हाल मनसुनी वायुका साथै पश्चिमी वायु र न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। आइतबार साँझबाट भने पश्चिमी क्षेत्रमा पनि वर्षाको क्रम घट्दै जानेछ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आगामी २४ घण्टा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म तथा वाग्मतीका दक्षिणी जिल्लाहरू भारी वर्षाको मुख्य जोखिममा रहेका छन्। मौसमविद्हरूले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई थप २४ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति: २०२६-०९-२६ , समय : १५:३४:५१ , २ घन्टा अगाडि