‘प्रहरी कार्यसम्पादन मूल्याङ्कन’ २०८३ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण

Enepal Patra Pvt. Ltd. , ४  पटक हेरिएको

सञ्जय मिश्रा

रौतहट, ५ असोज । नेपाल प्रहरीको सेवा प्रभावकारिता तथा कार्यदक्षता मूल्याङ्कनका लागि सञ्चालन गरिएको ‘नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन –२०८३’ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको निरीक्षण गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एवं अन्तरप्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी सिद्धी विक्रम शाह नेतृत्वको टोलीले आईतवार मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेको हो।
निरीक्षण टोलीमा डीआईजी दिनेश कुमार आचार्य, एसएसपी  मुकुन्द मरासिनी लगायतका अधिकारी सहभागी थिए।

टोलीले प्रदेश प्रहरी कार्यालयको समग्र कार्यसम्पादन, कार्यालयका विभिन्न शाखा, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन तथा भौतिक पूर्वाधारको अवस्थाबारे निरीक्षण गरेको थियो।

त्यस्तै, अपराध अनुसन्धानको अवस्था र विश्लेषण, प्रशासनिक गतिविधि, सुरक्षा तथा प्रहरी कार्य, हातहतियार व्यवस्थापन तथा शान्ति सुरक्षाका लागि प्रहरीले अवलम्बन गरेका नयाँ अभ्यास र नवप्रवर्तनात्मक कार्यसमेत निरीक्षणका क्रममा मूल्याङ्कन गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी ओम प्रसाद अधिकारीले बताएका छन्।

कार्यालयको प्रस्तुतिकरण तथा विभिन्न शाखाको निरीक्षणपछि एआईजी शाहले प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै सेवा प्रवाह, कार्यसम्पादन र प्रहरी संगठनप्रतिको जनविश्वास अभिवृद्धि गर्न आवश्यक निर्देशन दिएका थिए।

नेपाल प्रहरीले कार्यसम्पादनको अवस्था पहिचान, असल अभ्यासको आदानप्रदान तथा संगठनात्मक सुधारका लागि “प्रहरी कार्यसम्पादन मूल्याङ्कन”कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: २०२६-०९-२१ , समय : ०९:३८:१७ , २ घन्टा अगाडि