Enepal Patra Pvt. Ltd. , ४ पटक हेरिएको
सुभाष कायस्थ
जनकपुरधाम, ११ भदौ । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका करीब एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहिन रहेका छ्न । सम्पर्कविहिन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनीयर हुन् ।
प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्तरी बोदेबरसाइन नगरपालिका काचनटोलका देवकुमार यादव, शिवकुमार यादव र सचित यादव सम्पर्कविहीन रहेका छन् ।
यस्तै मधेश प्रदेश निवासी सन्तोष कुमार ठाकुर, राहुल गुप्ता, राजा यादव र सुरज मण्डल सम्पर्कविहिन रहेका छ्न । समाचार लेख्दासम्म यिनीहरुको ठेगान नखुलेपनि तिनीहरु मधेश प्रदेशकै रहेको जनाइएको छ ।
बाढी आएको समयदेखि उनीहरु सम्पर्कविहिन हुन् । सामाजिक सञ्जालमा तिनका आफन्त र परिवारजनहरुले उद्धारको गुहार गर्दै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । बाराका रमेश यादव रसुवामा सञ्चालित अपर त्रिशूली हाइड्रोपावरको ३३ मेगावाट क्षमताको आयोजनामा कार्यरत रहेको स्थानीय परवेज खानले जानकारी दिएका छन् ।
यस्तै महोत्तरीको पिपराका विकास यादव पनि रसुवास्थित एक हाइड्रोपावरमै कार्यरत छन् । जनकपुरधामका अजयप्रसाद सिंह २१६ मेगावाटको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत छन भने सन्तोष कुमार ठाकुर, राहुल गुप्ता पनि अपर त्रिशुली जलविद्युत आयोजनामै इन्जिनीयरको रुपमा कार्यरत जनाइएको छ ।
बाढीमा सम्पर्कविहिन भएका सप्तरीको बोदेबरसाइन तीनै एक परिवारका दाजुभाई हुन् । सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत रहेको परिवारले जनाएको छ । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत थिए ।
उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन । बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेको भन्दै यादवले सम्बन्धित निकायसँग तत्काल खोज तथा उद्धार गरिदिन आग्रह गरेका छन् ।
यस्तै जनकपुरधामका सिंहका श्रीमति पुजा साहले पनि बाढी आएको समयदेखि श्रीमानसँग सम्पर्क हुन नसकेको भनी आफ्नो श्रीमानको खोजी तथा उद्धार गरिदिन आग्रह गरेकी छिन् ।
प्रकाशित मिति: २०२६-०८-२७ , समय : १०:२२:२१ , २ घन्टा अगाडि