Enepal Patra Pvt. Ltd. , ८ पटक हेरिएको
पर्सा, ३० साउन । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित आर पी फार्मास्युटिकल्स प्रालिमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ भइरहेको अवस्थामा प्रहरीले फर्म सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फर्म सञ्चालक राहुल कुमार चौहान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट डीएसपी राजु कार्की र वडा प्रहरी कार्यालय श्रीपुरबाट इन्स्पेक्टर नवीन थापा मगरको संयुक्त टोलीले फर्ममा चेकजाँच तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ भइरहेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले फर्मबाट औषधिजन्य सामग्रीसहित अनुसन्धानका लागि आवश्यक अन्य प्रमाणसमेत नियन्त्रणमा लिएको छ।
अनुगमन तथा खानतलासीका क्रममा औषधि व्यवस्था विभागका निरीक्षक मुकेश कुमार राउत, रवि चौधरी र अमर शर्मा तथा घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीसमेत उपस्थित थिए।
प्रहरीका अनुसार पक्राउ परेका चौहानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ।
फर्ममा कुन–कुन औषधिजन्य वस्तु उत्पादन तथा लेबलिङ भइरहेको थियो, त्यसका लागि आवश्यक अनुमति लिइएको थियो वा थिएन तथा कारोबारमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-१५ , समय : १२:३५:१६ , १ घन्टा अगाडि