उत्तरी मोरङको समला डाँडा पर्यटकले भरिभराउ, चिसो हावापानी र मनोरम दृश्यले तान्यो हजारौँ आन्तरिक पर्यटक

निरोज ढकाल , १०  पटक हेरिएको

 

 

लेटाङ- २४ ,साउन। उत्तरी मोरङको लेटाङ नगरपालिका–७ मा रहेको प्राकृतिक पर्यटकीय गन्तव्य समला डाँडा पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ। विशेषगरी गर्मी मौसमबाट राहत पाउन र चिसो हावापानीको आनन्द लिन दैनिक रूपमा पर्यटकहरू समला पुग्ने गरेका छन्।

 

विशेषगरी सार्वजनिक बिदा, शनिबार र आइतबारका दिन समला डाँडामा अत्यधिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। समला व्यवस्थापन समितिका अनुसार सार्वजनिक बिदाका दिन यस क्षेत्रमा हजारौंको संख्यामा पर्यटक घुम्न, प्राकृतिक दृश्य अवलोकन गर्न तथा नाइट स्टेका लागि आउने गरेका छन्।

 

आज आइतबार कानेपोखरी, पथरी, इटहरी, विराटचोक, बेलवारी, विराटनगर, झापा, धरान, काठमाडौं लगायतका विभिन्न स्थानबाट हजारौँको सङ्ख्यामा पर्यटक समला डाँडा पुगेका छन्। पर्यटकहरूको बढ्दो आगमनले यस क्षेत्रको पर्यटन गतिविधि थप चलायमान बन्दै गएको छ।

 

समला डाँडा व्यवस्थापन समितिका अध्यक्ष सुशान्त राईका अनुसार पछिल्लो समय समला डाँडाप्रति आन्तरिक पर्यटकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी सार्वजनिक बिदाका दिन हजारौँको सङ्ख्यामा पर्यटकहरु यहाँ पुग्ने गरेका छन्। आज पनि विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा पर्यटक समला डाँडा घुम्न आएको उहाँले जानकारी दिनुभयो।

 

समला डाँडासम्म पुग्नका लागि कानेपोखरी–लेटाङ–याङ्सिला हुँदै करिब २० देखि २३ किलोमिटर सडक यात्रा गर्नुपर्छ, जसमा सवारी साधनमार्फत करिब ४५ मिनेटदेखि १ घण्टा लाग्ने गर्दछ। त्यस्तै पथरी–जाँते हुँदै समला डाँडासम्मको सडक दूरी करिब २७ देखि ३० किलोमिटर रहेको छ भने सवारी साधनबाट करिब ५५ मिनेटदेखि १ घण्टा १० मिनेट मा पुग्न सकिन्छ। यी दुवै मार्गबाट समला डाँडासम्म सहज रूपमा यात्रा गर्न सकिने भएकाले पछिल्लो समय पूर्वी नेपालका विभिन्न स्थानबाट पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ।

 

समला डाँडाबाट झापादेखि धरानसम्मको मनमोहक प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। हरियाली वन, फाँट र पूर्वी तराईका बस्तीहरूको दृश्यले यहाँ पुग्ने जो–कोहीको मनलाई लोभ्याउने गर्छ। कहिलेकाहीँ बाक्लो कुहिरो लाग्ने भएकाले सबै पर्यटकले यी दृश्यहरू स्पष्ट रूपमा अवलोकन गर्न पाउँदैनन्। तर मौसम खुलेको र घाम लागेको दिन समला डाँडाबाट देखिने मनोरम दृश्यले पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने गरेको छ।

 

प्राकृतिक सौन्दर्य, शीतल वातावरण र सहज पहुँचका कारण समला डाँडा उत्तरी मोरङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

प्रकाशित मिति: २०२६-०८-०९ , समय : ११:२०:५० , २ घन्टा अगाडि