अन्ततः तीन वर्षदेखि फरार ‘कुख्यात बिरालो’ मार्न सफल भयो न्युजिल्याण्डमा

ईनेपालपत्र संबाददाता , ९  पटक हेरिएको

 

काठमाडौं, २० साउन । प्रहरीले तीन वर्षदेखि खोजी गरिरहेको एउटा कुख्यात बिरालो थियो, जसको नाम थियो ‘नाइन लाइभ्स’।

 

यो नाम किन राखिएको थियो  मानिसहरूका अनुसार वास्तवमै त्यसका नौवटा जीवन थिए, ती तीन वर्षको अवधिमा त्यसलाई समात्ने हरेक प्रयास असफल भए । पटक पटक पासो थापिँदा पनि त्यो सधैं उनीहरूको नजर छलेर गायब हुन सफल हुन्थ्यो। त्यसको चलाखी देखेर वन्यजन्तु विशेषज्ञहरू समेत चकित थिए।

 

अन्ततः, तीन वर्षपछि ‘नाइन लाइभ्स’ को कथा टुंगिएको छ र उक्त बिरालोलाई मारिएको छ। न्युजिल्यान्डको एउटा क्षेत्रमा यो बिरालोले कस्तो तहल्का मच्चायो जसका कारण यसलाई समात्ने प्रयास तीन वर्षसम्म चलिरह्यो । अनि, समातिने बित्तिकै यसलाई मार्नुपर्ने गरी यसले वास्तवमा कस्तो अपराध गरेको थियो, आउनुहोस्, यस बारेमा जानकारी लिऔँ।

 

द गार्जियनका अनुसार  यो बिरालो न्युजिल्यान्डको हाँसको एक दुर्लभ प्रजातिलाई लोप हुने अवस्थासम्म पुग्ने गरी सिकार गरिरहेको थियो। नर्थ आइल्यान्डको उत्तरी भागमा पर्ने पुरेरुवा प्रायद्वीपमा विचरण गर्ने यो ठूलो खैरो धर्से बिरालोले न्युजिल्यान्डको मुख्य भू–भागमा पाइने ती अति दुर्लभ हाँसहरूमध्ये दर्जनौं, अर्थात तिनको कुल जनसंख्याको १ प्रतिशत, लाई मारेको विश्वास गरिन्छ । साथै, यसले किवीका धेरै चल्लाहरू, रैथाने गेको अर्थात एक प्रकारको छेपारो र अन्य स्थानीय वन्यजन्तुहरूको पनि सिकार गरेको थियो।

 

समाचार अनुसार ‘पेस्ट फ्री पुरेरुआ’ संरक्षण अभियानका परियोजना प्रबन्धक एन्डी मेन्टरले यस सफलतालाई आफूहरूले सामान्य रूपमा नलिएको बताएका छन् किनकि यो विषय लामो समयदेखि उनीहरूका लागि अलमल वा अन्योलको स्रोत बनेको थियो। न्युजिल्यान्ड बिरालो पाल्ने दर उच्च भएका देशहरू मध्ये पर्दछ। स्थानीय वन्यजन्तुमा छाडा र घरपालुवा बिरालाहरूको प्रभावबारे लामो समयदेखि चर्को बहस हुँदै आएको छ।

सामाजिक सञ्जालमा ‘नाइन लाइभ्स’ को मृत्युले कतिपय मानिसहरू दुःखी छन् र उनलाई बाँच्न दिनुपर्थ्यो भन्ने ठान्छन् भने अन्य कतिपयले यस घटनालाई ठूलो सफलताका रूपमा लिएका छन्।

 

‘नाइन लाइभ्स’ लाई लिएर चलिरहेको बहस उनको मृत्यु पछि पनि समाप्त हुने सम्भावना कम रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । स्थानीय वन्यजन्तुमा छाडा बिरालाहरूले पार्न सक्ने गम्भीर असरबारे जानकारी दिन उनको शरीरलाई सुरक्षित राखिने भएको छ। ‘नाइन लाइभ्स’ लाई पहिलो पटक सन् २०२३ मा नर्थल्यान्डको पुरेरुवा प्रायद्वीपमा देखिएको थियो, जसले उनलाई नियन्त्रणमा लिने लामो र कठिन प्रयासको सुरुवात गरेको थियो।

 

वन्यजन्तु संरक्षणसम्बन्धी एउटा संस्थाले ‘पुरेरुवा’ क्षेत्रमा जङ्गली बिरालाको समस्या नियन्त्रणमा आएको विश्वासका साथ २० वटा दुर्लभ ‘पाटेके’ हाँसहरूलाई त्यहाँ छोड्यो। तर, एक हप्ताभित्रै एउटा हाँस मरेको अवस्थामा फेला पर्यो। क्यामेराको मद्दतले विशिष्ट चिन्हहरू भएको एउटा बिरालोको पहिचान गरियो, जसलाई पछि ‘नाइन लाइभ्स’ नाम दिइयो । र, त्यसले अरू थुप्रै हाँसहरूलाई मारेको प्रमाणित भएको थियो ।

त्यसलाई समात्न थप पासो, उपकरण र ‘नाइट भिजन क्यामेरा’ हरू जडान गरिए तापनि त्यो हरेक पटक उम्कन सफल भयो। सन् २०२४ मा जब थप २० वटा हाँसहरू छोडिए, त्यही बिरालो फेरि देखा पर्‍यो र तिनमध्ये १५ वटालाई त उसले मारि नै दियो। अहिले भने त्यसलाई नियन्त्रणमा लिई गोली हानिएको छ। जसका कारण यो बिरालो न्युजील्याण्डको इतिहासमा कुख्यात भएर मरेको छ।

प्रकाशित मिति: २०२६-०८-०५ , समय : १३:१६:१२ , २ घन्टा अगाडि