निरोज ढकाल , १२ पटक हेरिएको

लेटाङ-९, साउन । मोरङ जिल्लाको लेटाङ नगरपालिका–८ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण याङ्सिला पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। लेटाङ बजारबाट करिब ७ किलोमिटरको दूरी र करिब २० मिनेटको यात्रामा पुग्न सकिने यस क्षेत्र हरियाली वनजङ्गल, शीतल वातावरण र रमणीय दृश्यका कारण दिनप्रतिदिन चर्चित बन्दै गएको छ।
याङ्सिलासम्म पुग्ने सडकको दायाँ–बायाँ घना माहाभारत सामुदायिक वन फैलिएको छ। त्यसमाथि पनि निर्माणाधीन कालेबुदुली सडक निर्माणको काम भइरहेका कारण यस ठाउँसम्म पुग्न थप सहज बन्दै गएको छ। नयाँ सडकसँगै वरपरको हरियाली वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ।
हाल पश्चिमतर्फ विराटनगर, इटहरी, धरान, सुन्दरहरैँचा, बेलबारी तथा पूर्वतर्फका पथरीशनिश्चरे, उर्लाबारी र दमकलगायतका स्थानबाट दैनिक रूपमा हजारौँ पर्यटक याङ्सिला पुग्ने गरेका छन्। विशेषगरी हाइकिङ, शीतल हावा, प्राकृतिक दृश्य र मौसमको आनन्द लिन आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको स्थानीय व्यवसायी बताउँछन्।
स्थानीयका अनुसार कालेबुदुली सडक निर्माणअघि दैनिक करिब ५० जनाको हाराहारीमा मात्र पर्यटक आउने गर्थे। तर सडक विस्तारसँगै अहिले यो संख्या बढेर दैनिक करिब ५०० जनासम्म पुगेको छ।
पर्यटकको चाप बढेपछि याङ्सिलामा रहेका तीनवटा होटलमा पनि निकै भीड हुने गरेको छ। पहिले एउटा मात्र होटल सञ्चालनमा रहेको र बजार लाग्ने दिनमा सीमित व्यापार हुने गरे पनि अहिले दैनिक आउने पर्यटकको भीडका कारण समयमै सेवा दिन कठिन भइरहेको होटल व्यवसायीहरूको भनाइ छ।
बीपीचोक, मिलनचोक, सुकेचौरी, गुवाबारी, आपडाँडा र पाटापुर हुँदै मोटरसाइकल, गाडी तथा ट्याम्पोमार्फत याङ्सिलासम्म सहज रूपमा पुग्न सकिन्छ। याङ्सिलादेखि माथि समलासम्म जाने सडक भने अझै निर्माणाधीन अवस्थामा रहेकाले केही स्थानमा हिलाम्मे भए पनि घाम लागेको समयमा यात्रा गर्न सहज नै रहेको स्थानीयवासी बताउँछन् । उक्त सडक केही महिनाभित्र कालोपत्रे गर्ने तयारीसमेत भइरहेकोले गर्दा गुवाबारीदेखि याङ्सिलासम्म बाँकी रहेका सडकखण्ड पनि कालोपत्रे सम्पन्न भएपछि यस क्षेत्रमा पर्यटकको संख्या अझै बढ्ने देखिएको छ।
बढ्दो पर्यटकलाई व्यवस्थित गर्न लेटाङ नगरपालिका, ६,८ वडा कार्यालय तथा महाभारत सामुदायिक वन उपभोक्ता समूहले सडकका विभिन्न स्थानमा डस्टबिन, विश्रामस्थल (फलैँचा), खानेपानी तथा सरसफाइका आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ। आवश्यक पूर्वाधार विकास गर्न सके याङ्सिला लेटाङ नगरपालिकाको पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।
#लेटाङकोआवाज
प्रकाशित मिति: २०२६-०७-२५ , समय : २०:२०:४८ , ३ घन्टा अगाडि