दिपेश रोक्का , १४६ पटक हेरिएको
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भोलि हुने निर्वाचनलाई लक्षित गर्दै युवा व्यवसायी देबेन्द्र लुइँटेलले अध्यक्ष पदका उम्मेदवार मेघनाथ भुर्तेललाई विजयी बनाउन सम्पूर्ण व्यवसायीहरूलाई अपिल गरेका छन्।
लुइँटेलले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र व्यवसायमैत्री बनाउने स्पष्ट कार्ययोजना तथा एजेन्डासहित मैदानमा उत्रिएका भुर्तेल नेतृत्वलाई समर्थन गर्न आग्रह गरेका हुन्। उनले भुर्तेलले सार्वजनिक गरेको ९ बुँदे प्रतिबद्धता वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायीको हकहित संरक्षण तथा श्रमिकको सुरक्षाका लागि महत्वपूर्ण दस्तावेज भएको बताए।
‘सुरक्षित वैदेशिक रोजगार, सिपसहितको श्रमिक, सम्मानजनक व्यवसाय र समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको एजेन्डामा नीतिगत सुधार, पूर्ण डिजिटल प्रणाली, सिण्डिकेट अन्त्य, व्यवसायमैत्री वातावरण निर्माण, श्रमिक सुरक्षा तथा सीप विकास, नयाँ श्रम बजार विस्तार, अवैध गतिविधिमाथि नियन्त्रण, त्रिपक्षीय सहकार्य तथा फ्री भिसा–फ्री टिकट नीतिको पुनरावलोकनजस्ता महत्वपूर्ण विषय समेटिएका छन्।
लुइँटेलले वैदेशिक रोजगार क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै अनुभवी, दूरदर्शी र व्यवसायीका समस्याप्रति संवेदनशील नेतृत्वको आवश्यकता रहेको बताए। उनका अनुसार भुर्तेलले अघि सारेका एजेन्डाले व्यवसायी, श्रमिक र सरकारबीचको समन्वयलाई मजबुत बनाउँदै क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
भुर्तेलले युरोप, जापान, कोरिया, इजरायललगायत उच्च आय भएका मुलुकहरूसँग श्रम सम्झौता विस्तार गरी नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर सिर्जना गर्ने, वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण प्रक्रियालाई डिजिटल माध्यमबाट सरल, छिटो र पारदर्शी बनाउने तथा कानुनी व्यवसायीको संरक्षण गर्दै अवैध गतिविधिमाथि प्रभावकारी नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्।
युवा व्यवसायी लुइँटेलले भोलि हुने निर्वाचनमा सहभागी भई परिवर्तन, सुधार र सुशासनको पक्षमा मतदान गर्न सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेका छन्। उनले मेघनाथ भुर्तेल नेतृत्वको टिमले वैदेशिक रोजगार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै मतदातालाई अपिल गरेका छन्।
भोलि हुने निर्वाचनलाई व्यवसायीहरूले चासोका साथ हेरेका छन्। भुर्तेलले सार्वजनिक गरेका एजेन्डा र प्रतिबद्धताले वैदेशिक रोजगार क्षेत्रको दीर्घकालीन सुधार तथा संस्थागत विकासका लागि सकारात्मक बहस सिर्जना गरेको बताइएको छ।
प्रकाशित मिति: २०२६-०६-०६ , समय : १३:२३:३३ , ३ घन्टा अगाडि