ड्रोन प्रविधि निगरानीका लागि मात्र होइन, सुरक्षित समाज निर्माणका लागि हो: ईलाका प्रहरी कार्यालय लेटाङ

प्रशान्त निराैला , १७  पटक हेरिएको

लेटाङ, २० जेठ। शान्ति सुरक्षालाई थप चुस्त र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ मोरङको लेटाङमा ड्रोन प्रविधिबाट सुरक्षा जाँच (सरप्राइज चेकिङ) सुरु गरिएको छ। ईलाका प्रहरी कार्यालय लेटाङले नगरका विभिन्न संवेदनशील क्षेत्र, बजार र आपराधिक गतिविधि हुन सक्ने सम्भावित स्थानहरूमा ड्रोनको प्रयोग गरी निगरानी बढाएको हो।

​”ड्रोन प्रविधि निगरानीका लागि मात्र होइन, सुरक्षित समाज निर्माणका लागि हो,” ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले बताउनुभयो। आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरेर अपराध नियन्त्रण र शान्ति सुरक्षा अमनचयन कायम गर्न यो कदम चालिएको उहाँको भनाइ छ। भौगोलिक रूपमा कतिपय दुर्गम वा प्रहरी तत्काल पुग्न नसक्ने स्थानहरूमा पनि ड्रोनको माध्यमबाट सजिलै निगरानी राख्न सकिने भएकाले यसले सुरक्षा व्यवस्थालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

​प्रहरीका अनुसार तीव्र गतिमा गुडिरहेका सवारी साधनको ट्र्याकिङ, अवैध गतिविधि, र भीडभाड हुने सार्वजनिक स्थलहरूमा हुने अवाञ्छित क्रियाकलाप रोक्न ड्रोन उपयोगी सिद्ध हुनेछ। लेटाङ प्रहरीको यो नौलो र प्रविधिमैत्री सुरुवातले स्थानीय बासिन्दामा सुरक्षाको प्रत्याभूति बढाएको छ भने आपराधिक मानसिकता भएकाहरूलाई दुरुत्साहित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०६-०४ , समय : २१:२७:४४ , ३ घन्टा अगाडि