निरोज ढकाल , १४ पटक हेरिएको
लेटाङ-८,जेठ। मोरङको लेटाङ नगरपालिका वडा नं ६ समाल डाँडा जाने बाटोमा बर्खायामको समयमा हुने समस्या समाधान गर्ने उद्देश्यले श्रम संस्कृति पार्टी वडा नम्बर ६ को वडा कमिटीद्वारा सञ्चालन गरिएको ४१औँ चरणको श्रमदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। लेटाङ नगरपालिका–६ मा आयोजित कार्यक्रममा वडा संयोजक श्री भवानी प्रसाद माखिमको अगुवाइ तथा श्रम संस्कृति पार्टी गाउँ कमिटीका अध्यक्ष श्री गम्भीर बहादुर लुंगेली मगरको अध्यक्षतामा करिब १८० मिटर नाली निर्माण कार्य सम्पन्न गरिएको छ। बर्खाको समयमा पानी जमेर बाटो बिग्रिने समस्या हटाई पर्यटक तथा स्थानीयलाई सहज आवतजावत गराउने उद्देश्यले नाली खन्ने कार्य गरिएको जनाइएको छ।
कार्यक्रममा स्थानीयवासी र जेन्जी युवायुवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। श्रमदान अभियानलाई सफल बनाउन विभिन्न व्यक्तिहरूले खाद्यान्न तथा आर्थिक सहयोगसमेत गरेका छन्।राजकुमार तामाङले एक कार्टुन पानी, एक कार्टुन चाउचाउ, दुई प्याकेट बिस्कुट तथा एक केजी भुजा सहयोग प्रदान गरेका थिए भने कम्मल लावतीले नगद रु २००० आर्थिक सहयोग गरेका थिए। आयोजकले सहयोगदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।
साथै श्रम संस्कृति पार्टी वडा नं. ६ का संयोजक भवानी माखिमका अनुसार समाल डाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। विशेषगरी गर्मीयाममा चिसो हावा खान र लेटाङ क्षेत्रदेखि झापा तथा बेलबारीसम्मको मनोरम दृश्य अवलोकन गर्न दैनिक ठूलो संख्यामा मानिसहरू पुग्ने गरेका छन्। बर्खायाममा पनि पर्यटकहरू सहज रूपमा समाल डाँडासम्म पुग्न सकून् भन्ने उद्देश्यले श्रमदान अभियान सञ्चालन गरिएको उनले बताए छन्।
प्रकाशित मिति: २०२६-०५-२२ , समय : १७:०४:११ , ६ घन्टा अगाडि