अन्तरधार्मिक शान्ति पार्क बुद्ध जयन्तीमा उद्घाटन हुने तयारी, निर्माण अन्तिम चरणमा

प्रशान्त निराैला , १०  पटक हेरिएको

लेटाङ, १४ वैशाख । मोरङको लेटाङ नगरपालिका–१ राजारानीमा निर्माणाधीन अन्तरधार्मिक शान्ति पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुद्ध जयन्तीको अवसर पारेर यही वैशाख १८ गते पार्कको विधिवत उद्घाटन गर्ने तयारी नगरपालिकाले तीव्र बनाएको छ । नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार पार्कले हिन्दु, बौद्ध, इसाई, इस्लाम र किरात धर्मावलम्बीलाई एउटै स्थलमा जोड्दै धार्मिक सद्भाव र सहअस्तित्वको सन्देश दिनेछ ।
नगरपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको यो शान्ति पार्क निर्माणका लागि प्रारम्भमा आर्थिक वर्ष २०८०–८१ मा एक करोड रुपैयाँ विनियोजन गरिएको थियो भने पछि संघीय सरकार र नगरपालिकाको लागत साझेदारीमा परियोजनालाई विस्तार गरिएको हो । करिब ६ कट्ठा क्षेत्रफलमा फैलिएको पार्कमा पाँच धर्मका लागि छुट्टाछुट्टै प्रवेशद्वार, धार्मिक पहिचान झल्कने संरचना तथा माथिल्लो तलाबाट तराई क्षेत्रको दृश्यावलोकन गर्न मिल्ने भ्यू टावर निर्माण गरिएको छ ।
धर्मका नाममा विभाजन र द्वन्द्व बढिरहेका बेला लेटाङमा निर्माण भएको यो अन्तरधार्मिक शान्ति पार्कले शान्ति, सहिष्णुता र आपसी समझदारीको नयाँ सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले यसलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा समेत लिएका छन् । बुद्ध जयन्तीको दिन उद्घाटनसँगै पार्कले लेटाङको पहिचानलाई अझ उचाइमा पुर्यािउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २०२६-०४-२७ , समय : ११:३६:२६ , ३ घन्टा अगाडि