निरोज ढकाल , १२ पटक हेरिएको
यूएई (संयुक्त अरब इमिरेट्स) को राजधानी अबुधाबीस्थित अज्बान क्षेत्रमा ड्रोन तथा मिसाइल अवरोधका क्रममा खसेका अवशेषका कारण ७ जना नेपाली नागरिक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
अबुधाबी मिडिया अफिसका अनुसार ६ जना नेपालीको अवस्था सामान्यदेखि मध्यम छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ। सोही घटनामा ५ जना भारतीय नागरिक पनि घाइते भएका छन्। घाइतेहरूको नाम सार्वजनिक गरिएको छैन।
यूएई रक्षा मन्त्रालयले वायु सुरक्षा प्रणालीमार्फत ड्रोन र मिसाइललाई सफलतापूर्वक निष्क्रिय बनाइएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रमा विभिन्न स्थानमा क्षति पुर्याएको जनाइएको छ। उक्त क्षेत्र अल–ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सीमाना नजिक पर्दछ।
घटनापछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो। प्रभावित क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
यसैबीच, अबुधाबीको हब्सन ग्यास उद्योग क्षेत्रमा पनि खसेका अवशेषका कारण आगलागी भएको थियो। केही समयका लागि उद्योगको सञ्चालन रोकिए पनि उक्त घटनामा मानवीय क्षति नभएको जनाइएको छ।
सरकारी अधिकारीहरूले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र विश्वास गर्न र अपुष्ट समाचार नफैलाउन आग्रह गरेका छन्।
यसअघि गत फागुनमा इरानमा भएको ड्रोन आक्रमणमा यूएईमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो।
प्रकाशित मिति: २०२६-०४-०४ , समय : ०८:४०:५३ , ३ घन्टा अगाडि