प्रशान्त निराैला , १० पटक हेरिएको
लेटाङ/काठमाडौं, १८ चैत। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ भोलिदेखि बिहान ८ बजेदेखि देशभर सुरु हुँदैछ। मोरङको लेटाङ नगरपालिकामा कुल ६५२ जना परीक्षार्थी सहभागी हुने भएका छन्, जसमा ६३५ जना नियमित र १७ जना ग्रेड वृद्धि परीक्षार्थी रहेका छन्। यहाँका २१ वटा माध्यमिक विद्यालय (१० सामुदायिक र ११ निजी) बाट विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्। लेटाङमा शान्ति भगवती, शिक्षा विकास र जाँते माध्यमिक विद्यालय गरी ३ वटा परीक्षा केन्द्र तोकिएको छ।
लेटाङ नगरपालिकाले परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। केन्द्राध्यक्ष नियुक्ति, अभिमुखीकरण ९ओरेन्टेसन० तथा मापदण्ड र आचारसंहिता सम्बन्धी जानकारी दिइसकिएको छ भने परीक्षार्थीहरूले प्रवेशपत्र पनि लिइसकेका छन्। तर, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने विषयमा हालसम्म आधिकारिक जानकारी नआएको शिक्षा शाखा प्रमुख कृष्णराज राईले जानकारी दिनुभयो। उहाँले विद्यार्थीलाई निर्धक्क र आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि एसईईको उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण गर्ने निर्णय गरेको छ। नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित ‘जहाँ परीक्षा, त्यहीँ परीक्षण’ नीति लागू गरिएको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार शिक्षक अभाव वा असुरक्षित अवस्था भएमा शिक्षा विकास तथा समन्वय एकाइमार्फत अन्य स्थानबाट पनि परीक्षण गर्ने व्यवस्था मिलाइनेछ।
देशभर यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ भने ५ लाख १२ हजार ४२१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। राष्ट्रिय परीक्षा बोर्डले एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०४-०१ , समय : ११:१०:४५ , ३ घन्टा अगाडि