निरोज ढकाल , ४ पटक हेरिएको
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूले चुनाव नजित्ने देखेपछि चुनाव भाँड्न खोजेको आरोप लगाएका छन्। भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पक्षमा नतिजा नआउने निष्कर्षमा पुगेपछि रास्वपाले विभिन्न हत्कन्डा अपनाउन थालेको दाबी गरे।
ओलीले अरू दलका झण्डा जलाउने, नानाथरी बखेडा झिक्ने, असहज परिस्थिति सिर्जना गर्ने तथा तनाव बढाउने गतिविधि भइरहेको आरोप लगाए। “रास्वपा आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, अर्काको पक्षमा आउँछ भने हुन नदिने प्रवृत्तिमा देखिएको छ,” उनले भने। पछिल्ला घटनाक्रमले चुनाव भाँड्ने प्रयासतर्फ संकेत गरेको उनको भनाइ थियो।
उनले निर्वाचन बलजफती गर्ने विषय नभई नियम–कानुनभित्र स्वच्छ, स्वस्थ र निष्पक्ष प्रतिस्पर्धाको प्रक्रिया भएको उल्लेख गरे। मतदाताले निर्भय वातावरणमा गएर बिना दुविधा आफ्नो मत दिन पाउनुपर्ने र मतदानअघिदेखि मतगणना तथा परिणाम घोषणासम्म सम्पूर्ण प्रक्रिया पारदर्शी र धाँधलीरहित हुनुपर्नेमा उनले जोड दिए।
ओलीले हालको अवस्था पूर्ण रूपमा शान्तिपूर्ण नदेखिएको र शान्ति भड्काउने प्रयासहरू भइरहेका संकेत देखिएको बताए। निर्वाचनपछि पनि द्वन्द्व कायम रहने सम्भावना देखिएकाले पहिले द्वन्द्वका कारणहरू समाधान गरेर मात्रै चुनावमा जानुपर्ने आवाजहरू उठिरहेको उनले उल्लेख गरे। सबै राजनीतिक दलहरूले जिम्मेवारीबोधका साथ वातावरण सुधारतर्फ अग्रसर हुनुपर्ने उनको आग्रह थियो।
प्रकाशित मिति: २०२६-०२-२१ , समय : २०:३९:४९ , ४ घन्टा अगाडि